प्रमुख र ज्येष्ठ सुबेदारलाई थप जिम्मेवार र संवेदनशील हुन प्रधानसेनापतिको निर्देशन

जंगी अड्डामा सञ्चालित २ दिने केन्द्रीय तहको प्रमुख सुबेदार र ज्येष्ठ सुबेदार समन्वयात्मक बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले थप जिम्मेवार र संवेदनशील हुन निर्देशन दिएका छन् ।

बिहीबार बैठक समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले प्रमुख सुबेदार र ज्येष्ठ सुबेदारहरू युनिट तथा सब–युनिटहरूका सबैभन्दा पुराना र अनुभवी व्यक्ति भएकाले युनिट तथा सब–युनिटहरूको संस्कृति र परम्परा कायम राख्न थप जिम्मेवार र संवेदनशील हुनुपर्ने बताए ।

प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदारहरूले प्रदर्शन गर्ने व्यावसायिक क्षमताले नै समग्रमा संस्था सक्षम र सबल हुने हुँदा आगामी दिनमा थप उत्साहजनक प्रयास गरी पल्टनको युद्धकार्य तयारीपन, अनुशासन, बन्दोबस्ती तथा कल्याणकारी लगायतका क्षेत्रहरूमा नतिजामुखी उपलब्धि हासिल गर्न निर्देशन दिए ।

सम्बोधनका क्रममा उनले नेपाली सेनामा विद्यमान नीतिगत व्यवस्था तथा संस्थागत प्रयासहरूको कार्यान्वयनका दौरान देखिएका व्यावहारिक पक्षहरूको सम्बन्धमा समन्वयात्मक बैठकबाट प्राप्त राय सुझावलाई अध्ययन गरी सम्बोधन गर्न सम्बन्धित विभागहरूलाई निर्देशन दिए ।

नेपाली सेनामा सैन्य पदमा भर्ना भई पदोन्नति हुँदै पुग्ने राजपत्र अनंकित वरिष्ठतम पद प्रमुख सुबेदार/जेष्ठ सुबेदार हो । पल्टनको संस्कृति, परम्परा र रीतिरिवाजबारे जानकार तथा जिम्मेवार प्रमुख सुबेदार/जेष्ठ सुबेदारलाई नेपाली सेनामा अति महत्त्वपूर्ण नियुक्तिका रूपमा लिइन्छ ।

बिहीबार बलाधिकृत रथी अशोकराज सिग्देलले उद्घाटन गरेको समन्वयात्मक बैठकको समापन कार्यक्रममा रथीवृन्द, अधिकृत तथा बैठकका सहभागी ९० जना प्रमुख सुबेदार र जेष्ठ सुबेदारहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *