केही महिनाभित्रै काँग्रेसको नेतृत्वमा नयाँ सत्ता गठबन्धन बन्छ : शेखर कोईराला

नेपाली कांग्रेसले विपक्ष भएको नाताले सत्तामा जानका लागि कोशिस गरिराख्ने र त्यो केही महिनाभित्रै सफल हुने नेता कोइरालाको भनाइ थियो । शनिबार काठमाडौंमा आयोजित बीपी स्मृति सामुदायिक अस्पतालको १६ औं वार्षिक साधारणसभामा बोल्दै नेता कोइरालाले गठबन्धन बन्ने र भत्किने कुराले देश नबन्ने भन्दै यसलाई रोक्नका लागि निर्वाचन प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्तावसमेत राखे ।

राष्ट्रियसभालाई समावेशी समानुपातिक प्रतिनिधित्व गराउने र प्रतिनिधिसभालाई प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली अवलम्बन गरेमात्रै कुनै एक दलले बहुमत ल्याउने र मुलुकमा राजनीतिक स्थायित्व र विकास, निर्माणको कामले गति लिनसक्ने नेता कोइरालाको भनाइ छ । उनले आगामी निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन गरेर नजाने अडानसमेत राखे । नेता कोइरालाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सरकार र सत्तारुढ दलले संसदबाट पास गरे पनि त्यसलाई लागू हुन नदिने जिकिर पनि गरे ।

नेता कोइरालाले पीडितमैत्री भएमात्रै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्न नेपाली कांग्रेसले साथ दिने स्पष्ट पारे । मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता, सर्वोच्च अदालतको निर्देशन र पीडितमैत्री भएमात्रै सो विधेयक संसदबाट पास गराउन आफ्नो पार्टीले सरकारलाई साथ दिने उनको धारणा थियो ।

उनले भने, ‘देश भनौँ वा नेपाली कांग्रेस भनौं कठिन परिस्थितिमा छ । देशको राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक कुनै पनि कुरा ठीक ठाउँबाट हिँडिरहेको छैन । हामीहरुले गठबन्धन गर्‍यौँ, निर्वाचनमा गयाँै । लार्जेस्ट पार्टी भयौं, खुसी भयौँ । तर तपाईंहरुमध्ये कतिजना चितवन जानु भएको छ । मलाई थाहा छैन । त्यहाँ गएर सोध्नुस्, त्यहाँ गएर बुझनुस् । नेपाली कांग्रेसको एउटा कार्यकर्ता पनि गठबन्धनको विरोधमा छ । एउटा कार्यकर्ता पनि सर्पोटमा छैन । हामीले आफूले उम्मेदवार दिनुपर्ने मेयरको टिकट हामीहरुले अर्को पार्टीलाइै दियौं । तर हामी खुसी के मा भयौं भने हामी लार्जेस्ट पार्टी भयौँ  भनेर ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *