अनधिकृत रुपमा हडपिएको स्काउटको जग्गा फिर्ता गराउँदै खेलकुदमन्त्री

नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री दीपक खड्काले नेपाल स्काउटको लैनचौरस्थित जग्गा अनधिकृत रूपमा हडपेर भाडा उठाएको विषयमा युवा तथा खेलकुद मन्त्रालयले छानबिन थालेको छ।

स्काउटले हडपिएको आफ्नो जग्गा खाली गराउन प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म हारगुहार गरिरहेका बेला तालुकदार मन्त्रालयले छानबिन थालेको हो।

स्काउटले कब्जा गरिएको जग्गा फिर्ता गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति रामचन्द्र पौडेललाई समेत पत्रचार गरेको अवस्थामा मन्त्रालयले जग्गासम्बन्धी सबै विवरण स्काउटसँग मागेको छ।

स्काउटका प्रशासकीय अधिकृत सन्तोष चौहानले हडपिएको जग्गा खाली गराउन उच्च अदालतको आदेशसहित सबै विवरण मन्त्रालयमा पठाएका छन्।

सांसद खड्काले स्काउटको जग्गा अनधिकृत रूपमा कब्जा गरी भोगचलन गरेको र बुझाउनुपर्ने बक्यौतासमेत नबुझाएको विषयमा मन्त्रालयलाई कागजातसहित जानकारी गराइएको छ। सांसद खड्काले सञ्चालन गरेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबारे युवा तथा खेलकुद मन्त्रालय र गृह मन्त्रालयलाई स्काउटले जानकारी गराएपछि छानबिन प्रक्रिया अघि बढाइएको हो। उक्त प्रालिले स्काउटको जग्गा अनधिकृत रूपमा हडपेको आरोप छ।

यस विषयमा गत बुधबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले समेत चासो देखाउँदै स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जितसँग सोधपुछ गरेका थिए। त्यसअघि यसै विषयमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सबै विवरण मन्त्रालयमा पठाउन स्काउटलाई भनेका थिए।

प्रमुख आयुक्त रञ्जित शुक्रबार आफैं मन्त्रालय पुगेर युवा तथा खेलकुदमन्त्री श्रेष्ठ र सचिव रविलाल पन्थलाई लिखित रूपमा विवरण उपलब्ध गराएका हुन्। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर