चिनियाँ अपराधको जालोमा भारतीय सीमा बजार

कुनै समय काठमाडौंमा केन्द्रित चिनियाँ अपराधको जालो एकपछि अर्को गर्दै नेपाल भारत सीमा बजारमा सक्रिय हुन थालेको छ । नेपालमा पर्यटक भेषमा आएका चिनियाँहरुले नेपालीहरुको सहयोगमा साइबर अपराधको अखडा नेपाल भारत सीमामा केन्द्रित गर्न थालेका छन् ।

केही समयअघि रुपन्देहीको बुटवल र भैरहवामा सक्रिय रहेका चिनियाँ नागरिकहरु यतिबेला पर्सामा सक्रिय रहेका छन् ।

वीरगन्जमा अवैध तरिकाले कल बाइपास गरेर नेटवर्किङ धन्दा चलाउने चिनियाँ नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ वर्षीय लुई गुई काई, २६ वर्षीय बोहान भिलाङ, ३४ वर्षीय झान झिलिङ, २२ वर्षीय झेइ हुवाहुवान र ३६ वर्षीय जियाङ जियाओ छन् ।

नियन्त्रणमा लिएका पाँचै चिनियाँ नागरिकका विषयमा थप सोधखोज र अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

शनिबार प्रहरीले वीरगन्ज महानगरपालिका– १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उक्त गिरोहले भाडामा घर लिएर अवैध रूपमा अन्तर्राष्ट्रिय कल–एसएमएस बाइपास गर्दै आएका थिए ।

केही महिनाअघिदेखि चिनियाँ नागरिकहरू वीरगन्जमा बसेर कल बाइपास गरी नेटवर्किङ गर्दै आएको बताइएको छ ।

वीरगन्जको लक्ष्मणवामा बसेर अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिकलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जानकारी दिए । पक्राउ परेकाहरूबाट ७०/८० थान डेस्कटप मोनिटर, करिब २५ थान मोबाइल, ल्यापटपसहितका सामान बरामद गरिएको उनले जनाए ।

पर्सा प्रहरीको विशेष सूचना संकलन टोलीले केही साता अगाडि चिनियाँ नागरिक वीरगन्जमा आवतजावत गरिरहेको पाइएपछि नोटिसमा राखेको थियो । वीरगन्जमा चिनियाँ नागरिक घुमिरहेको सूचना पाएपछि प्रहरीले आफ्नो सतर्कता बढाएको थियो । त्यसपछि प्रहरीले फेला उनीहरूको बस्ने घर र कार्यालय फेला पारेको थियो । उनीहरुले २ महिनादेखि घर भाडामा लिएर अनलाइन ठगी धन्दा चलाइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर