वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मी नियुक्त गर्न सांसद कार्कीको माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मीहरु नियुक्त गर्न माग गरेकी छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले वीर अस्पतालमा स्वास्थ्यकर्मीको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको भन्दै तत्काल स्वास्थ्यकर्मी नियुक्त गर्न माग गरेकी हुन् ।

वीर अस्पतालमा ८ सय ३१ जनाको दरबन्दी स्वीकृत पनि भइसकेको भन्दै करारमा अथवा लोकसेवामार्फत जुन प्रक्रियामा भएपनि तुरुन्त स्वास्थ्यकर्मी नियुक्त हुनुपर्ने उनले बताइन् । कार्कीले अघिल्लो स्वास्थ्यमन्त्रीले एकैपटक २ सय ७६ जना स्वास्थ्यकर्मीलाई वीर अस्पतालबाट निकालेर अस्पतालको सेवा नै अलपत्र पारेको भन्दै नयाँ स्वास्थ्यमन्त्रीले सेवामा सुधार ल्याउने विश्वास व्यक्त गरिन् ।

‘वीर अस्पतालप्रति स्वास्थ्य मन्त्रालयको अघिल्लो नेतृत्वको नजर नपुगेको होइन, उहाँको नजर पुग्यो तर उहाँले अस्पतालको व्यवस्थापन नै ध्वस्त हुनेगरी एकैपटक २७६ जना स्वास्थ्यकर्मीहरुलाई निकालि दिनुभयो र अस्पतालको सेवा अलपत्र पारिदिनु भयो । आशा छ यस पटकका स्वास्थ्यमन्त्रीको ध्यान पुग्नेछ र अस्पतालको सेवामा सुधार ल्याउनुहुनेछ । म स्वास्थ्यमन्त्रीज्युलाई अनुरोध गर्न चाहन्छु, एउटा यस्तो व्यवस्था गरियोस् जतिपनि देशभरीका अस्पतालहरुमा आइसियु बेड खाली छन्, कस्ता–कस्ता सेवाहरु दिइन्छन्, डाक्टरहरु कुन–कुन छन् भन्ने इन्फरमेशन हामीले वेवसाइटमार्फत् हेर्न सकियोस् । जहाँ नागरिकले फोन गरेर सोध्न, खोज्न सकुन् । वीर अस्पतालमा स्वास्थ्यकर्मी तत्कालै भर्ना गर्नुपर्नेछ । करारमा हुन्छ कि अथवा लोकसेवामार्फत् हुन्छ । ८३१ जनाको दरबन्दी स्वीकृत पनि भइसकेको छ । तत्कालै यसलाई प्राथमिकतामा राखेर स्वास्थ्य मन्त्रालयले यो गरोस् भनेर अनुरोध गर्न चाहन्छु,’ उनले भनिन् ।

उनले कुनै वेबसाइटमार्फत अथवा कुनै माध्यमबाट देशभरका अस्पतालमा कस्ता कस्ता सेवाहरु दिइन्छन् र कति आइसियु बेड खाली छन् भन्ने हेर्न सकिने व्यवस्था गर्न समेत माग गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *