सशस्त्र प्रहरीद्धारा सीमावासीका लागि विभिन्न कार्यक्रम घोषणा

सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीको २३औं स्थापना दिवस सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा विविध कार्यक्रम गरी चैत्र १८ गते सम्पन्न भएको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालयले स्थापना दिवसको अवसर पारेर बाहिनी मुख्यालयमा आन्तरिक रुपमा आयोजना गरिएको विभिन्न खेलकुद तथा हाजिरी जवाफ प्रतियोगितामा बिजयी टिम तथा खेलाडीहरुलाई प्रमाणपत्र, मेडल तथा शिल्ड प्रदान गर्नुका साथै बाहिनीको कामकारवाहीमा बर्षभरि उत्कृष्ट कार्यगर्ने कर्मचारीहरुलाई प्रशंसापत्र तथा ‘आइजी एपीएफ कमेन्डेसन’ समेत प्रदान गरेका थिए ।
महानिरीक्षक अर्यालले देशको भूगोलको सुरक्षा कुनै एक संगठन वा निकायको मात्र जिम्मेवारी नभई सम्पूर्ण देशवासीको समान उत्तरदायित्व रहने चर्चा गर्नुहुँदै सीमा सुरक्षाको लागि सीमावासीहरुलाई जागरुक गराउन सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अघि सारेको बताए ।
उनले यस कार्यक्रम अन्तर्गत सीमामा बसोबास गर्ने आदिवासी जानजाति, दलित समूदाय, अल्पसंख्यक, अतिविपन्न, पिछडिएका वर्ग र सीमान्तकृत समुदायका छात्रछात्राहरुले सामुदायिक विद्यालयबाट क्भ्भ् मा उत्कृष्ट नतिजा ल्याउने १५ जनालाई बार्षिक १२ हजार रुपैयाँ शैक्षिक छात्रबृत्ति प्रदान गर्ने, अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरुमा बसोबास गर्ने नागरिकका सन्ततीहरुबाट २ जनालाई नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था र यसको सुरुवात कोशी प्रदेशबाटै गर्ने घोषणा गरे ।
अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरुमा बसोबास गर्ने ५ बर्ष सेवा अवधि पुगेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई बर्षिक ४ प्रतिशतको ब्याजदरमा न्यूनतम् ५ लाखदेखि अधिकतम् १० लाख रुपैयाँसम्म सहुलियत आवास कर्जा उपलब्ध गराउने, सीमा क्षेत्रका जनताहरुको सीप विकासमार्फत आयआर्जनलाई टेवा पुर्याउने उद्देश्यले यही चैत्र २९ गतेबाट सुनसरी जिल्लाको हरिनगरा गाउँपालिकामा २० जनालाई केश कर्तक तालिम प्रदान गराइने तथा निकट भविष्यमा थप सीपमूलक तालिमहरु समेत प्रदान गर्ने लक्ष्य संगठनले लिएको बताए ।
उनले बाहिनीले कोशी प्रदेशको समग्र सुरक्षा व्यवस्थापन र राजश्व चुहावट नियन्त्रण गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताउदै विपद् व्यवस्थापनको लागि सम्बन्धित सवै सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय र सहकार्य गरी आवश्यक पूर्व तयारी गर्न निर्देशन दिए । कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *