जिम्मा लिएको काममा लापरबाही गर्नु हुँदैन : महानिरीक्षक अर्याल

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल खटेका स्थानमा कुनै किसिमका गैरकानुनी क्रियाकलाप हुन नदिन र आफू पनि कुनै व्यक्तिगत लेनदेनमा सहभागी नहुन निर्देशन दिएका छन् ।

सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल, नेपाल नं १ बराहवाहिनी मुख्यालयको २३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले सशस्त्र प्रहरीले सीमा क्षेत्रको सुरक्षा र राजस्व छली नियन्त्रणको काम गर्दै आएको बताए।

उनले सीमा क्षेत्रमा भएका सम्पूर्ण नराम्रो कामको जिम्मा त्यहाँ खट्नेहरुले लिनुपर्ने बताए । उनले भने, ‘सीमा क्षेत्रमा खट्नेहरुका लागि समस्या पनि धेरै छन् तर जिम्मा लिएको काममा कसैले लापरबाही गर्नु हुँदैन । जानीजानी गरेका गल्ती अपराध सरह हुन्छन् । कर्तव्य पालनाका सिलसिलामा भएका गल्ती भने सुधार्न सकिन्छ ।’

कार्यक्रममा सशस्त्र प्रहरी बल बराहवाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले सशस्त्र प्रहरीलाई चुस्त, दुरुस्त र अनुशासित बनाउन शून्य सहनशीलता अपनाइएको बताए। कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरीलाई पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर