आयरल्यान्ड ‘ए’ लाई नेपाल ‘ए’ को २ सय १४ रनको लक्ष्य

आयरल्यान्ड ‘ए’ टोलीविरुद्धको तेस्रो तथा अन्तिम टी–२० खेलमा नेपालको ‘ए’ टोलीले २ सय १४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन जोडेको छ ।

मध्यक्रमका ब्याटर आरिफ शेखले नटआउट ९३ रन बनाए । उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरेका थिए ।

बसिर र आरिफले चौथो विकेटका लागि ५७ रनको साझेदारी गरे । ११ औं ओभरमा बसिर १९ रन जोड्दै एलबीडब्लु आउट भए । पवन सर्राफले १२ बलमा १३ रन जोडे । राशिद खानले १३ बलमा ३ छक्कासहित २४ रन जोडे । त्यसपछि कमलसिंह ऐरीले नटआउट १९ रन बनाए ।

फिओन ह्यान्डले २ विकेट लिँदा लियाम मकार्थी, म्याथ्यु फोस्टर, ग्यारेथ डेलनी र ग्याभिन होएले १–१ विकेट हात पारे ।

नेपाल ‘ए’ले यसअघि खेलेका दुवै खेलमा पराजित हुँदै शृंखलाको उपाधि गुमाइसकको छ । आयरल्यान्ड एसँग नेपाल ए पहिलो खेलमा २१ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।

नेपाल ‘ए’ को प्लेइङ एघारमा कप्तान विनोद भण्डारीसहित लोकेश बम, देव खनाल, पवन सर्राफ, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, आरिफ शेख, नारायण जोशी, बसिर अहमद र राशिद खान छन् । त्यस्तै बेन्चमा हेमन्त धामी, अर्जुन घर्ती, विकास आग्री र किरण ठगुन्ना छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर