तस्करी नियन्त्रणमा नेपाल प्रहरी सक्रिय

राजस्व चुहावट र तस्करीका क्षेत्रमा देखिएका नविन प्रवृत्ति र प्रमुख समस्याको पहिचान गरी प्रभावकारी रूपमा तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी सक्रिय रहेको छ ।
तस्करी नियन्त्रण गरी राजस्व संकलन गर्ने क्रममा चालू आर्थिक वर्षको हालसम्म जम्मा ४ अर्ब ३ करोड ४४ लाख ९६ हजार ५२९ रूपैयाँ ४८ पैसा बराबरको राजस्व संकलन भएको छ । उक्त राजस्व चोरी, पैठारी तथा अवैध सुन, चाँदी, मालसामान, नदीजन्य पदार्थ, अवैध काठ बरामद, अवैध मुद्रा, हुन्डी कारोबार, ट्राफिक जरिवाना, फैसला कार्यान्वयन लगायतका शीर्षकहरूबाट संकलन भएको हो । ती शीर्षकमा संलग्न ७ हजार ६७९ जनालाई प्रहरीले कानुनी दायरामा ल्याई उक्त राजस्व संकलन गरेको हो ।
राज्यको कानून कार्यान्वयनको क्रममा फैसला कार्यान्वयनबाट पक्राउ, अवैध भन्सार छलि, ट्राफिक कारबाही लगायतका कार्यहरूबाट नेपाल प्रहरीले वार्षिक रूपमा ठूलो परिमाणमा राजश्व संकलन गर्दै आएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल ले भने, ‘लुकाई छिपाई भन्सार छली गर्ने, अवैध रूपले सामान भित्र्याउने जस्ता राजस्व चुहावटका क्षेत्रमा देखिएका समस्या हुन् । यस्ता समस्याको समाधान गर्दै चेकजाँचमा कडाई गर्ने, आधुनिक प्रविधिको प्रयोग गर्ने, निग्रानी र नियन्त्रणका उपायहरू अवलम्बन गरी प्रहरीले सक्रिय रूपमा काम गर्दै राजस्व संकलनमा योगदान दिएको छ । राजस्व चुहावट नियन्त्रणमा खटिएका सरोकारवाला निकायका कर्मचारीहरूसँग समन्वय तथा सहकार्य गरी नेपाल प्रहरीले काम गर्दै आएको छ ।’
संकलित राजस्वमध्ये अवैध मालसमान बरामदीबाट १ अर्ब ३६ करोड ४४ लाख ३ हजार २५६ रूपैयाँ, ट्राफिक जरिवानाबाट १ अर्ब १० करोड ३६ लाख ४५ हजार ३५४ रूपैयाँ र फैसला कार्यान्वयनबाट १ अर्ब २ करोड ७८ लाख ३ हजार ५४३ रूपैयाँ संकलन भएको हो ।
चालू आर्थिक वर्षमा हालसम्म संकलित राजस्व तथ्यांकको विश्‍लेषण गर्दा राजस्व संकलन ६ अर्ब ५ करोड १७ लाख ४४ हजार ७९४ रूपैयाँ २२ पैसा हुने प्रक्षेपण गरिएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३५ दशमलव १७ प्रतिशतले बढी हुने आँकलन गरिएको छ । उक्त रकम मासिक औषत ५० करोड ४३ लाख १२ हजार ६६ रूपैयाँ दरले हुन आउँछ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ८ महिनाको राजस्व संकलन गत आर्थिक वर्षको ८ महिनाको तुलनामा ५० दशमलव २८ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७८/०७९ र आर्थिक वर्ष २०७९/०८० को फागुन मसान्तसम्मको राजस्व संकलन दुवै आर्थिक वर्षको ८/८ महिनाको तुलना गर्दा १० दसमलव ४ प्रतिशतले राजस्व संकलनमा कमी आएको देखिन्छ ।
यसैगरी आर्थिक वर्ष २०७८/०७९ को फागुन मसान्तसम्म २ अर्ब ९९ करोड १ लाख ४३ हजार २४८ रूपैयाँ ६२ पैसा र चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ४ अर्ब ३ करोड ४४ लाख ९६ हजार ५२९ रूपैयाँ ४८ पैसा बराबर राजस्व संकलन भएको देखिन्छ । दुवै आर्थिक वर्षको ८ महिनाको राजस्व संकलन दर तुलना गर्दा ३५ दशमलव १८ प्रतिशतले वृद्धि भएको देखिन्छ ।   प्रहरी नायव महानिरीक्षक ढकालले भने, ‘वर्तमान गृहमन्त्री ज्यूको पदवहाली मितिभन्दा अगाडिको २२ दिन र पछाडिको २२ दिन अवधिको फैसला कार्यान्वयन बाहेकको राजस्व संकलन तर्फको तथ्यांक विश्‍लेषण गर्दा समग्रमा २४ दशमलव ५० प्रतिशतले राजस्व संकलन वृद्धि भएको देखिन्छ । सीमा क्षेत्रमा नेपाल प्रहरीको सक्रियता बढेकै कारण राजस्व संकलन वृद्धि तथा चुहावट नियन्त्रणमा उल्लेखनीय योगदान पुगेको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर