सीमाबासीको सहभागितामा सीमा सुरक्षाको योजना बनाउँदै सशस्त्र प्रहरी

सोमबार झापा गौरीगन्ज गाउँपालिका–६ स्थित खजुरगाछीकी एक छात्रालाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले छात्रवृत्ति प्रदान गरे । सीमा क्षेत्रमा बसोबास गर्नेका करिब एक सय सन्ततिलाई शैक्षिक सामग्री वितरण गरे ।

सशस्त्रले ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत यो सहयोग प्रदान गरेको हो । पछिल्लो वर्षयता सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रका नागरिकलाई आरक्षणको व्यवस्था गर्ने, त्यस्ता कर्मचारीलाई सहुलियत ऋण, विद्यार्थीलाई छात्रवृत्ति तथा अन्य क्षेत्रमा यो कार्यक्रमअन्तर्गत सहयोग गर्दै आएको छ ।

सीमा सुरक्षाको योजनाअनुसार यो कार्यक्रम सञ्चालन गरिएको बताउँछन्, सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) राजु अर्याल । दक्षिण भारत र उत्तर चीनसँग नेपालको लामो सीमा जोडिएको छ । भौगोलिक कठिनाइ र कम जनशक्तिका कारण २४ सै घण्टा सबै सीमा क्षेत्रमा सशस्त्रले गस्ती गर्न सम्भव छैन ।

‘सीमाबासीहरुसँग सहकार्य गरेर सीमा सुरक्षा व्यवस्था बलियो बनाउन पनि यो कार्यक्रम ल्याएका हौं । सीमामा बसोबास गर्नेका समस्याहरुलाई समाधान गर्न सशस्त्रले सघाउने र त्यसबाट सीमा सुरक्षाको उद्देश्यमा सघाउ पुग्ने उद्देश्य राखेका छौं,’ उनले भने ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बसोबास गर्नेहरुबाट आरक्षणका रुपमा सशस्त्रमा कर्मचारी भर्ना गर्ने र सीमाक्षेत्रमा घर रहेका आफ्ना कर्मचारीलाई सहुलियत ऋणको व्यवस्था गर्ने जस्ता योजना ल्याएको छ ।

यस्तै, सीमा क्षेत्रका बासिन्दाका लागि पूर्वाधार निर्माणमा सहयोग गर्ने, उनीहरुका सन्तानलाई वार्षिक छात्रवृत्ति प्रदान गर्ने तथा शैक्षिक सामग्री सहयोग गर्ने जस्ता योजना पनि यो कार्यक्रमअन्तर्गत सञ्चालनमा छ ।

सीमा जोडिएका साढे तीन सय ६५ वडावासीलाई सशस्त्र भर्नामा आरक्षणको प्रस्ताव ऐनमा राख्ने तयारी पनि सशस्त्रले राखेको छ । यस्तै सीमावासी वडाका प्रहरी अधिकारी र जवानलाई ४ प्रतिशतमै कल्याण कोषबाट ऋणको व्यवस्था गर्ने योजना छ । जब कि सशस्त्र प्रहरीले यस्तो ऋण सामान्यतया ६ प्रतिशत ब्याजदरमा पाउने गर्छन् ।

सीमावासीसँग सहकार्यका लागि सशस्त्र प्रहरीले सम्बन्ध र सहकार्य मजबुत बनाउन चाहेको छ । सोमबारको कार्यक्रममा पनि सशस्त्र

प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले सीमा सुरक्षालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सीमाक्षेत्रमा बसोबास गर्ने स्थानीयको साथ र सहयोग अपरिहार्य रहने बताए ।
यसअघि सशस्त्रले क्विक इम्प्याक्ट प्रोजेक्ट सञ्चालन गरेको थियो । यो कार्यक्रमअन्तर्गत सीप विकासको तालिम दिइएको थियो । सीमा अपराध, मानवबेचबिखन, हातहतियार तथा लागूऔषध ओसारपसार र आतंकवादीहरूको गतिविधि रोकथामका लागि सीमावासीलाई सचेत, सजग र सहकार्यका लागि यो अभियान प्रभावकारी हुने सशस्त्रको अपेक्षा छ ।

यस्तै, सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’अन्तर्गत २४सै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनका लागि ‘सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र, २०८०’ लागू गरेको छ । त्यसका लागि अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लाटुन सशस्त्र प्रहरी बल नेपालको फौज परिचालन सुरु गरिएको छ ।

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणापत्र तयार गरी लागू गरिएसँगै अब प्रत्येक प्रदेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एक प्लाटुन टोली २४ सै घण्टा सीमा गस्तीमा तैनाथ रहने सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिए ।

उनले सीमासँग जोडिएका जिल्लाका सीमास्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानूनी गतिविधि नियन्त्रण गर्न थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणा पत्रसहित फौज परिचालन गरिएको बताए ।

यसका साथै सशस्त्र प्रहरी बल र छिमेकी मित्रराष्ट्रका समकक्षीसँग समन्वय र सहकार्यमा समेत सहयोग पुग्नेछ । जिम्मेवारी इलाकाको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिकलगायत वर्तमान स्थितिबारे जानकारी लिनुकासाथै सीमा सुरक्षाको अवस्था, सीमा स्तम्भ तथा दशगजा क्षेत्रको अतिक्रमणबारे जानकारी अद्यावधिक हुन गई प्रभावकारी सुरक्षा व्यवस्थापन र सीमावासी नागरिकसँग अन्तरक्रियाबाट सकारात्मक सम्बन्ध र सामिप्यता अभिवृद्धि भई सीमा सुरक्षामा प्रभावकारिता बढ्ने विश्वास लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सीमा गस्तीअन्तर्गत प्रत्येक बाहिनीले गण, गुल्म, प्रस्तावित सीमा सुरक्षा गुल्म, बिओपी र बेशहरु समेतको जनशक्ति समावेश गरी सीमा क्षेत्रको दशगजा ईलाकामा बन्दोवस्तीका सामग्रीसहित परिचालन हुनेछ । साथै एक जिल्लाबाट अर्को जिल्लामा क्रस गस्ती सञ्चालन गर्ने तथा सीमा पैदल गस्तीले अर्को गस्तीसँग ‘लिङ्कअप’ गरी गस्तीलाई चक्रको रुपमा निरन्तरता दिने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *