बैरागी नेतृत्वमा गठित समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लामिछानेको निर्देशन

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रबन्धलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा गठित राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीको नेतृत्वमा गठित समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

मंगलबार गृह मन्त्रालयमा उक्त प्रतिवेदन कार्यान्वयनका लागि सरोकारवालाबिचको छलफलमा उनले विमानस्थलमा रहेका निकायबिच प्रभावकारी समन्वय र सहकार्य गर्न र एक अर्कालाई दोषारोपण नगर्न आग्रह गरे ।

यस्तै उनले त्रिभुवन विमानस्थलको भीआइपी कक्ष प्रयोग नगर्न गृह मन्त्रालयका अधिकारीलाई आग्रह गरेका छन् ।  नागरिकलाई चार घण्टा कुराएर आफू चार मिनेटमा छिर्ने प्रवृत्ति न्यूनीकरण गर्नुपर्ने उनको भनाइ छ ।

छलफलमा त्रिभुवन विमानस्थलमा कार्यरत प्रायः सबै निकायका प्रतिनिधिले भीआइपीको स्पष्ट मापदण्ड बनाउन र उनीहरुको आगमन र प्रस्थान व्यवस्थित गर्न आत्यावश्यक रहेको औंल्याएका थिए । भीआइपीले आफ्नो मर्यादा ख्याल नगर्दा सुरक्षा चुनौतीसमेत बढेको उनीहरू भनाइ थियो ।

गृहमन्त्री लामिछानेले सुरक्षा वा अन्य व्यवस्थापनको बहानामा यात्रुलाई हैरानी र सास्ती दिने प्रवृत्ति अन्त्य गर्न जोड दिएका छन् । तत्कालै परिवर्तनको अनुभूति गर्ने गरी नागरिकलाई सुरक्षा र सेवा दिन उनले निर्देशन दिए ।

छलफलमा गृह मन्त्रालय (सचिव), अर्थ मन्त्रालय (सचिव), संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (सचिव), नेपाल प्रहरी (महानिरीक्षक), सशस्त्र प्रहरी बल (महानिरीक्षक) नेपाल नागरिक उड्डयन प्राधिकरण (महानिर्देशक), नेपाल वायुसेवा निगम (महाप्रबन्धक), अध्यागमन विभाग (महानिर्देशक), अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल, भन्सार कार्यालय त्रिभुवन विमानस्थललगायतका प्रतिनिधिको सहभागीता रहेको थियो ।

प्रतिवेदनमा नेपाल प्रहरीको छुट्टै हवाई सुरक्षा सेवा गठन गर्न, विमानस्थलबाट निजी क्षेत्रका सुरक्षा गार्ड हटाउन, दुई वर्षभन्दा बढी कार्यरत कर्मचारीलाई सरुवा गर्न, आधुनिक उपकरण र डिटेक्टरको व्यवस्था गर्न, कुटनीतिक कार्गो जाँच गर्ने प्रणालीलाई थप प्रभावकारी बनाउन, विमानस्थलको एकीकृत इन्टलिजेन्स् बनाउन, अध्यागमन ऐन र नियमावली समय सापेक्ष संशोधन गरी विमानस्थलको प्राविधिक सुधारलगायत पक्षमा सुझाव दिएको छ ।

विमानस्थलबाट बाहिरिएको करिब ६१ केजी सुन बरामद भएपछि गत भदौमा सरकारले विमानस्थलको सुरक्षा सुदृढीकरणका लागि राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदाश वैरागीको नेतृत्वमा समिति गठन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर