आगामी वर्ष खेलकुद क्षेत्रमा बजेट वृद्धि हुने विश्वास छ : खेलकुदमन्त्री श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुदको बजेट अपर्याप्त रहेको भन्दै आगामी वर्ष बजेटमा वृद्धि हुने आशा व्यक्त गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सवको अवसरमा बुधबार मन्त्री श्रेष्ठले खेल क्षेत्रका विकासका लागि अनेकन स्थानबाट बजेट माग हुँदै आएपनि सो अनुरूप निकासा या परिपूर्ति गर्ने अवस्था नरहेको बताए ।

तथापि, आगामी वर्षको बजेटमा भने वृद्धि हुने प्रधानमन्त्री पुष्पकमल दाहालबाट विश्वास प्रदान भएको मन्त्री श्रेष्ठले जानकारी दिए । साथै अब खेलाडीहरूले पाउनुपर्ने पुरस्कार पनि छिट्टै निकासा गर्न प्रधानमन्त्रीबाट निर्देशन भइसकेको उल्लेख गर्दै त्यसप्रति आभार व्यक्त गरे । उनले खेल क्षेत्र राष्ट्रिय एकता र पहिचानको माध्यम रहेको धारणा राखे ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले राखेपको ६० औं वार्षिकोत्सव नेपाली खेलकुदको संस्थागत विकास र आगामी मार्गनिर्देशनको आधार बन्ने विश्वास व्यक्त गरे । आगामी २० औं एशियाली खेलकुदमा स्वर्ण पदकसहित दोहोरो अंकको पदक जित्ने लक्ष्यसहित तयारी भइरहेको बताए ।

खेलकुद पुरस्कार सम्बन्धित कानून व्यवस्थाको सुनिश्चिता भइसकेको र त्यसको कार्यान्वयन पनि छिट्टै हुने राखेप सदस्यसचिव घिसिङले विश्वास व्यक्त गरे । नेपाली क्रिकेट टोलीलाई ट्वान्टी–२० विश्वकपको तयारीका लागि यो सरकारले पाँच करोड रुपैयाँ उपलब्ध गराएको प्रति घिसिङले धन्यवाद व्यक्त गरे । सो वार्षिकोत्सवमा पाँच खेलाडीसहित १८ बुधबार सम्मानित भएका छन् ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राखेपले विभिन्न ६ विधामा १८ जनालाई सम्मान गरेको हो । पाँच खेलाडी (१ पारासहित), समान १/१ प्रायोजक, स्थानीय तह र राष्ट्रिय खेल संघ, दुई खेल पत्रकार तथा ८ कर्मचारी (२ करारसहित) सम्मान भएका हुन् ।

सिनियरको पुरुषमा एथलेटिक्सका दीपक अधिकारी र महिलामा बक्सिङकी सुष्मा तामाङले सर्वोत्कृष्ट खेलाडी अवार्ड र ट्रफीसहित समान एक लाख नगद पुरस्कार पाए । जुनियरको पुरुषमा क्रिकेटका अर्जुन कुमाल र महिलामा पौडीकी डुवाना लामाले सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पारे । दुवैलाई जनही ५० हजार रुपैयाँ र ट्रफी प्रदान गरियो ।

पारा एथलिट खेलाडीको अवार्ड पौडीका भीमबहादुर कुमालले जिते । खेल क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत नवलपरासीको मध्यविन्दु नगरपालिकालाई उत्कृष्ट स्थानिय तह तथा नेपाल भलिबल संघलाई उत्कृष्ट राष्ट्रिय खेल संघका रुपमा पुरस्कृत गरियो ।

मध्यविन्दुका मेयर भीमलाल अधिकारी तथा भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले अवार्ड ग्रहण गरे । कर्मचारीको प्रशासनिकतर्फ नायब वरिष्ठ प्रशासकिय अधिकृत भोजानन्द राईले सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, नायव वरिष्ठ प्रशासकिय अधिकृत सुनिलकुमार दाहालले उत्कृष्ट परिषद् सेवा पुरस्कार र नायव वरिष्ठ प्रशासकिय अधिकृत शारदा दाहालले परिषद् सेवा पुरस्कार प्राप्त गरे ।

त्यस्तै प्रशिक्षणतर्फ नायब वरिष्ठ कुस्ती प्रशिक्षक मुम्ताज अली इद्रिसी सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, क्रिकेट प्रशिक्षक मन्जुर आलम खान उत्कृष्ट परिषद् सेवा पुरस्कार र भलिबल प्रशिक्षक उमादेवी गुरुङ परिषद् सेवा पुरस्कारबाट पुरस्कृत भए ।

सर्वोत्कृष्ट, उत्कृष्ट र परिषद् सेवा पुरस्कारबाट पुरस्कृत हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदसहित पुरस्कारसहित ट्रफी पाए । उनीहरूलाई प्रधानमन्त्री दाहाल, खेलकुद मन्त्री श्रेष्ठ, राखेप उपाध्यक्ष शिव कोईराला र सदस्यसचिव टंकलाल घिसिङले ट्रफी तथा पुरस्कार दिएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *