इलाम–२ उपनिर्वाचन: नेम्वाङ र खड्काको चुनाव जित्ने दाबी

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

शनिबार दिउँसो उपनिर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, नेकपा (एकीकृत समाजवादी) बाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेश्नल अर्गनाइजेशनका मनेबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले इलामवासीको मायाका कारण आफ्नो जित निश्चित रहेको बताए ।

उनले नयाँ ढंगले प्रचारप्रसार गर्ने बताए । उनले बिनागालीगलौज र टीकाटिप्पणीबिना प्रचारप्रसार गर्ने बताए । सबैजना सक्षम र अब्बल रहेकाले आफ्नो शतप्रतिशत दिएर काम गर्ने बताए । उनले पिता स्व. सुवासचन्द्र नेम्वाङले गरेका कामहरुको पदचाप पछ्याउँदै झनै राम्रो गर्ने प्रतिबद्धता जनाए ।

उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले आफूले इलाममा गरेको सामाजिक कार्यहरु हेरेर भोट दिन आग्रह गरे । उनले आफूले नेपाली कांग्रेसमा २०३९ सालदेखि काम गरिरहेकाले पनि भोट दिएर जिताउन आग्रह गरे । गठबन्धन ठूलो कुरा नभएको बताउँदै आफूलाई जनताले निर्वाचित गर्नेमा विश्वस्त रहेको उनको भनाइ छ ।

इलाम–२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर