रास्वपा लक्षित गगनको टिप्पणीः नयाँ राजनीतिक दलले गरेको भ्रष्टाचार पनि भ्रष्टाचार नै हो

कांग्रेस महामन्त्री गगनकुमार थापाले भ्रष्टाचार नयाँ वा पुरानो राजनीतिक दलले गरेको भन्ने नहुने बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नयाँ वा पुरानो भनेर छुट नहुने बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित टिप्पणी गर्दै उनले कानूनको शासनभन्दा माथि कोही पनि नहुने जिकिर गरे । उनले प्रश्न भन्दा माथि कोही पनि नरहेको बताए । थापाले प्रश्न भन्दा माथि कोही पनि नेता नरहेको बताए ।

सर्वसाधारणले गरेको ठगी ठगी भएको जस्तै शक्तिशालीले गरेको ठगी पनि ठगी नै हुने भएकाले शक्तिशालीलाई छुट दिन नहुने उकनको भनाइ थियो ।

‘कानूनको शासनको लागि हामी उभिन्छौँ भन्नुको अर्थ प्रश्नभन्दा माथि कोही छैन । प्रश्न भन्दा माथि कोही शक्तिशाली पनि छैन । प्रश्नभन्दा माथि कुनै नेता छैन । प्रश्नभन्दा माथि नयाँ नेता पनि छैन, पुराना नेता पनि छैनन् । कोही पनि प्रश्नभन्दा माथि छैनन् । कोही पनि कानूनभन्दा माथि छैन । यदि एउटा सर्वसाधारणले गरेको कुनै काम ठगी ठगी हो भने शक्तिशालीले गरेको पनि ठगी ठगी नै हो । यदि सर्वसाधारणले गरेको कुनै काम कीर्ते कीर्ते हुन्छ भने शक्तिशालीको गरेको कीर्ते पनि कीर्ते नै हुन्छ । एउटा सामान्य मान्छेले वडामा गएर सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्छ भने त्यसले मन्त्री भएर यदि सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्छ भने त्यो भ्रष्टाचार नै हुन्छ । भ्रष्टारचार कांग्रेसले गरे पनि भ्रष्टाचार हुन्छ, एमालेले गरे पनि भ्रष्टाचार नै हुन्छ, माओवादीले गरे पनि भ्रष्टाचार नै हुन्छ, नयाँ पार्टीले गरेको भ्रष्टाचार पनि भ्रष्टाचार नै हुन्छ,’ थापाले भने ।

महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै कांग्रेसले देशको उद्योग धन्दा बेचेर खाएको आरोप लगाउनुभएको भन्दै कम्युनिष्ट सरकारले अहिले एउटा उद्योग खोलेर देखाउन चुनौती दिए । उनले अहिले प्रधानमन्त्री, अर्थमन्त्री कम्युनिष्ट पार्टीकै भएकाले नयाँ उद्योग खोलेर देखाउन आग्रह गरे । उनले सरकारले उद्योग धन्दा गर्ने नभइ निजी क्षेत्रले गर्नेमा कम्युनिष्टहरु जानकार रहेकाले पनि खोल्न नसक्ने बताए ।

‘एउटा कम्युनिष्ट पार्टीको नेता, पूर्वप्रधानमन्त्रीले बेला बेलामा उभिएर के भनिदिनुहुन्छ भने कांग्रेसले उद्योग धन्दा बेचेर खायो भनिदिनुहुन्छ । ल अहिले कम्युनिष्ट पार्टीको सरकार छ । प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ, अहिलेको गठबन्धनको सर्वोच्च नेता केपी शर्मा ओली हुनुहुन्छ । अर्थमन्त्री वर्षमान पुन हुनुहुन्छ, सबै कम्युनिष्ट पार्टीको सरकार छ । काँग्रेसलाई पटक पटक उद्योग कलकारखाना बेचेको आरोप लगाएको होइन, ल यसपाली बजेट तपाईहरुले बनाउने, यसपालिको बजेटमा म सरकारलाई यहीँबाट सरकारसँग माग राख्छु, यो पटकको बजेटमा काँग्रेसले बेचेर खाएको हुनाले गर्दा तपाईले यो पटक खोल्नुस् ल । नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको सरकारले चुरोट कारखाना खोलोस् । जुत्ता, रक्सी, सिमेन्ट, कपडा खोल्नुस्, एउटा खोलेर देखाओस् ल । तपाईहरुको हातमा डाडु पनिउ छ खोल्नुस् । उहाँहरुले खोल्नुहुन्न, उहाँहरुलाई थाहा छ, सरकारले चुरोट, रक्सी बनाउने होइन रहेछ,’ थापाले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *