महाधिवेशनका लागि एकीकृत समाजवादीका चार दस्ताबेज तयार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आसन्न १०औँ महाधिवेशनका लागि चार वटा दस्ताबेज तयार भएका छन् । राजनीतिक दस्ताबेज, विधान दस्ताबेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्ताबेज र साङ्गठनिक दस्ताबेजको लेखन पूरा भएको हो ।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तयार पारेको राजनीतिक दस्तावेजमा देशको पछिल्लो राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय घटनाक्रम समावेश गरिएको छ । देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, विविधताबीचको एकता, सामाजिक सांस्कृतिक पक्ष पनि दस्तावेजमा समेटिएको छ ।

पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तयार पारेको समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेजमा वैज्ञानिक समाजवादको अवधारणा, समाजवादको स्वरुप, आर्थिक रुपान्तरणलगायत विषय समावेश गरिएको छ ।

उपाध्यक्ष बेदुराम भुसालले लेखेको विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरिएको छ । सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदन गराउने व्यवस्था गरिएको छ ।

महासचिव घनश्याम भुसालले तयार पारेको साङ्गठनिक दस्तावेजमा पार्टीको सङ्गठन निर्माणमा देशभरका सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मको सदस्यतालाई व्यवस्थित गर्दै फैलनुपर्ने जनाइएको छ ।

आगामी जेठ ३ देखि ७ गतेसम्म पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौँमा हुँदैछ । पार्टी अध्यक्ष नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटीले आवश्यक तयारी गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर