खुल्दै सुरुङको ढोका, पूर्वाधार विकासको नयाँ गन्तव्यमा नेपाल

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग छिचोलिन डेढ मिटर मात्र बाँकी छ । यो खन्दाखन्दै बाँकी रहेको पनि होइन बाँकी राखिएको हो । सबै कुरा सामान्य रहेको भए खन्न बाँकी राखिएको भाग पूरा भएर नेपाल सुरुङमार्गको नयाँ चरणमा यसअघि नै प्रवेश गर्ने थियो तर स्थानीयवासीको अवरोध र अन्य विभिन्न कारणले त्यो मिति पछि सर्दै जाँदा २०८१ सालको सुरुमा नै नेपाल नयाँ ढोका उघार्दै पूर्वाधार विकासको नयाँ गन्तव्यमा प्रवेश गर्ने भएको छ ।

सो सुरुङमार्गले मुलुकलाई नयाँ सडक पूर्वाधार मात्र दिने छैन त्यससँग सम्बन्धित जापानी उच्च प्रविधिसमेत नेपाल भित्रिने छ । सुरुङ खन्न जापानका प्राविधिक साथै नेपाली प्राविधिकसमेत खटिँदै आएका छन् । औपचारिक उत्सव मनाउन नयाँ वर्षको पहिलो हप्ता नै सुरुङ छिचोलिने कार्यक्रम गरिने भएको छ । नेपालस्थित जापानी राजदूतावास र नेपाल सरकारको उच्च तहको सहमतिमा त्यसको मिति तय गरिने छ ।

हालसम्मको तयारी अनुसार वैशाख ३ गते छिचोल्ने गरी काम भइरहेको छ । आयोजनाका उपनिर्देशक गोविन्द डुमरुले खन्न बाँकी रहेको डेढ मिटर सुरुङमा विस्फोट गराएर सुरुङ छिचोलिने बताउनुभयो ।

यसअघि साउन २३ गते आपत्कालीन सुरुङ छिचोलिएको थियो । आपत्कालीन सुरुङको लम्बाइ दुई हजार ५५७ मिटर र मुख्य सुरुङको लम्बाइ दुई हजार ६८८ मिटर छ । २०७६ कात्तिक ४ गते आयोजनाको शिलान्यास गरिएको थियो । आयोजनाका उपनिर्देशक डुमरुका अनुसार अहिले आयोजनाको कुल भौतिक प्रगति ७३ प्रतिशत रहेको छ ।

एक वर्ष लाग्ने

छिचोलिएपछि सुरुङ सञ्चालनमा ल्याउन कम्तीमा एक वर्ष एक महिना लाग्ने आयोजनाका इन्जिनियर रमेश कोइरालाले जानकारी दिए । उनले भने, “सुरुङ छिचोल्नु भनेको घरको ‘पिल्लर’ ढलान गरेजस्तै हो । जसरी ‘पिल्लर’ ढलानको काम सम्पन्न भए पनि घरको अधिकांश काम बाँकी हुन्छ । त्यसै गरी छिचोलिए पनि सुरुङलाई सञ्चालनमा ल्याउन त्यसका अधिकांश काम बाँकी नै रहने छ । सुरुङमार्ग आयोजनाको बाँकी काम सकिन करिब १२÷१३ महिनाको समय लाग्न सक्छ ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर