नौ महिनामा भन्सार छलीका ५६ करोडका सामान बरामद

पर्साका प्रशासनले चालु आर्थिक वर्षको नौ महिनामा रु. ५६ करोड एक लाख बराबरका राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त र बेग्लाबेग्लै टोलीले उक्त अवधिमा भन्सार छली गरेका तथा बिलबिजकबमोजिम नभएका सामान बरामद गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले रु. ५६ करोडभन्दा बढीका अवैध सामान बरामद गरिएको बताए । ‘जिल्लाको एक सय सात किलोमिटर क्षेत्र भारतसँग खुला सिमाना जोडिएको छ । सीमित सुरक्षाकर्मीको सहयोगमा चोरी पैठारी नियन्त्रण गरिरहेका छौं,’ उनले भने ।

नेपाल प्रहरीले हालसम्म अवैध चोरी तस्करी तथा बिलबिजकभन्दा धेरै सामान ल्याएको भन्दै ३६ करोड ३९ लाख ८९ हजार बराबरका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बलले पनि चोरी तस्करी तथा बिलबिजकअनुसार नभएका १९ करोड ६१ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । आव २०७८÷७९ मा रु. २३ करोड ४९ लाख मूल्य पर्ने सामान नियन्त्रणमा लिइएको थियोे । आव २०७९÷८० मा ४८ करोड नौ लाख ६४ हजार बराबरका सामान बरामद भएको थियो ।

प्रमुख जिल्ला अधिकारी भुसालले आपराधिक गतिविधि नियन्त्रणका निमित आफ्ना भारतीय समकक्षीसँग पनि मासिक रुपमा बैठक गर्दै आएको बताए । दशगजामा खेतीपाती, पशुहाट कुखुरा फार्म, माछा पोखरीलगायत संरचना निर्माण हुँदा अवाञ्छित गतिविधि नियन्त्रण चुनौतीपूर्ण बनेकोे बताए । सीमा सुरक्षा र त्यहाँ हुने अवैध कारोबार रोक्न संयुक्त गस्ती र बजार अनुगमन नियमित रूपमा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *