भारतमा लोकसभा चुनाव : मोदी नेतृत्वको गठबन्धन हावी

छिमेकी मुलुक भारतमा चुनावी सरगर्मी बढिरहेको छ । सात चरणमा हुने भारतको १८ औँ लोकसभा निर्वाचन यही अप्रिल १९ देखि जुन १ तारिखसम्म चल्नेछ । जसमा दुई ठूला गठबन्धन भाजपाको नेतृत्वमा रहेको राष्ट्रिय जनतान्त्रिक गठबनधन (एनडीए) र कांग्रेसको नेतृत्वमा रहेको ‘इन्डिया’बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

सात चरणमा हुने लोकसभा चुनावमा ६ वटा राष्ट्रिय पार्टीहरू भाजपा, कांग्रेस, सीपीएम, बहुजन समाज पार्टी, नेशनल पिपुल्स पार्टी र आम आदमी पार्टी चुनावी मैदानमा छन् । भाजपाको नेतृत्वमा रहेको एनडीए गठबन्धन, भारतीय कांग्रेसको नेतृत्वमा रहेको इन्डिया गठबन्धन तथा अन्य पार्टीहरू आफ्नो उम्मेदवारको नामावली टुंग्याई चुनावी प्रचारप्रसारमा देश दौडाहामा छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित एनडीए गठबन्धनका दलहरू ‘इस वार चार सौ पार’ भन्दै देशभर तीव्र चुनावी प्रचारप्रसारमा छन् । साथै इन्डिया गठबन्धनका दलहरू भने लोकतन्त्र बचाउका लागि र कथित अधिनायकवादलाई रोक्नका लागि भन्दै चुनावी प्रचार प्रसारमा लागिपरेका छन् ।

मोदी विरोधी मिडिया र शक्ति केन्द्र मोदी फेरि सत्तामा आए आफ्नो वर्चस्व सधैंका लागि सकिने भयले विरोधमा उत्रेका छन् । यस पटक मोदी विरोधीको असहिष्णु चर्तिकला हेर्दा र सुन्दा विपक्षी गठबन्धन साँच्चैको कमजोर मात्र होइन कि आफ्नो अस्तित्व जोगाउनै समस्यामा परेको जस्तो अति हतोत्साहित देखिन्छन् । उनीहरू मोदीको जनलहरलाई जित्न भन्दा पनि आफ्नो अस्तित्व जोगाउने कसरत गर्दै छन् । एकातिर कांग्रेसको नेतृत्वमा रहेको इन्डिया गठबन्धनसँग लोकतन्त्र बचाउ, भाजपा, मोदीको आलोचना र जनतामाझ चासो नभएका चुनावी नाराहरू बाहेक भारतलाई विकसित बनाउने र जनताको मन जित्ने खालका खासै विशेष चुनावी एजेन्डा नभएको देखिन्छ । भाजपाको नेतृत्वमा रहेको एनडीए गठबन्धन जनतालाई रोजगारको ग्यारेन्टी, किसान लक्षित कार्यक्रम, निःशुल्क स्वास्थ्य उपचार, भारतलाई विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बनाउने, एक भारत श्रेष्ठ भारत अभियान, मेक इन भारत, मौलिक धर्मसंस्कृति र हिन्दूत्वको संरक्षण, धार्मिक पर्यटनको विकास, विश्वमाझ विकसित भारत जस्ता पपुलर नाराहरू लिएर जनतामाझ गएकोले बलियो देखिएको छ ।

मोदीको नेतृत्वमा पछिल्लो एक दशकमा भारतमा भएको विकास, अन्तर्राष्ट्रियस्तरमा भारतको बढेको प्रतिष्ठालाई देशविदेशमा रहेका भारतीयहरूले आत्मगौरव गरेको देखिन्छ । अझै चुनावी मुखमा मोदीको नेतृत्वमा भएको जी २० राष्ट्रहरूको सम्मेलन भारतमा हुनु र ‘वसुधैव कुटुम्बकम्’ भन्ने नारालाई जी २० राष्ट्रहरूले आत्मासात् गर्नुले पनि भारतको प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा बढेको पुष्टि हुन्छ । यो भाजपाको नेतृत्वमा रहेको एनडीए गठबन्धका लागि मजबुत उपलब्धिको रूपमा हेर्न सकिन्छ । साथै ५०० वर्षको संघर्षपछि भारतका करोडौँ हिन्दूहरूको आस्थाको केन्द्र भगवान् श्रीरामको जन्मभूमि अयोध्यामा पुनःराम मन्दिर बन्नु र रामललालाई प्राण प्रतिष्ठा गर्न सफल हुनुले पनि करोडौँ जनताहरूको धार्मिक आस्थालाई सम्मान गरेकोमा भाजपा नेतृत्वको एनडीए गठबन्धले राम्रो मत ल्याउने निश्चित देखिन्छ । साथै मोदी आएपछि भारतमा हिन्दूहरूको एकता, हिन्दूत्वको जागरण र वैदिक सनातन धर्मालम्बीहरूले आफ्नो गुमेको धार्मिक आत्मागौरवलाई पुनः प्राप्ति गरेकोले हिन्दुत्वको संरक्षकको रूपमा पनि मोदीलाई लिने गरेका छन् ।

विकासको दृष्टिकोणले पनि मोदी सरकारले प्रान्त सरकारसँग मिलेर एक दशकमा लाखौं किलोमिटर सडक निर्माण, रेलमार्गको विस्तार, आतंकवादको विरूद्ध खरो प्रहार, नयाँ संसद भवनको निर्माण, नयाँ नयाँ एयरपोर्टको निर्माण, छिमेकी देशलाई पहिलो प्रथमिकता र सम्बन्धमा सुधार, शक्ति राष्ट्रहरूसँग सुमधुर कूटनीतिक सम्बन्ध जस्ता दर्जनौँ सकारात्मक कार्य गरेको भारतीय जनताले बताउने गरेका छन् । यसपटक पक्कै पनि भारतको चुनाव विशेष र रोचक हुने देखिन्छ । भाजपाले आफूलाई राष्ट्रवादी र विपक्षीलाई विकास विरोधीको संज्ञा दिइरहेको छ भने विपक्षीले आफूलाई उदार लोकतन्त्रको हिमायती र भाजपा गठबन्धनलाई अधिनायकवादीको संज्ञा दिइरहेको छ । तर जनतामाझ भने मोदी नेतृत्वकै गठबन्धनलाई बढी रुचाएको र विकासप्रेमीको रूपमा मोदीलाई लिने गरेको पाइन्छ । साथै भारतीय सञ्चारमाध्यमहरूको चुनावी सर्वेक्षण र राजनीतिक विश्लेषकहरूका अनुसार मोदीको नेतृत्व शैलीलाई विश्वले स्वीकारिसकेको छ ।

मोदीको नेतृत्वमा एक दशकमा भारत विश्वमाझ पाचौँ शक्तिशाली अर्थतन्त्रमा उक्लेको छ । मोदीलाई आमजनताले आफ्नो अभिभावक र भारतको विकासमा ऐतिहासिक कार्य गर्न सक्ने नेताको रूपमा लिएका छन् । कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनमा राम्रा छवि र समग्र भारतलाई नेतृत्व दिन सक्ने खुबी भएका विश्वासिलो नेता नभएको भन्दै मिडियामा व्यंग्यसमेत भएका छन् भने भारतीय जनताले चुनावी सर्वेक्षणमा पनि त्यस्तै अभिमत प्रकट गरिरहेका छन् । यसरी भारतीय राजनीतिक विश्लेषक र जनताको अभिमत हेर्दा यसपटक पनि भारतीय जनताले मोदीलाई पुनः प्रधानमन्त्रीको रूपमा चाहेको देखिन्छ । २०२४ मा पनि मोदी नेतृत्वको गठबन्धनले सानदार जित हासिल गर्ने पक्का छ ।

(लेखक कृष्ण हुमागाईं छात्र विचारका सम्पादक हुन्)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *