वान एक्स बेटिङबाट सट्टेबाजीमा संलग्न तीन पक्राउ

वान एक्स बेटिङ कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही मलंगवा नगरपालिका–९ बस्ने ३१ वर्षीय संञ्जय कुमार साह, १९ वर्षीय रामजी साह र सोही नगरपालिका–१० बस्ने ३० वर्षीय राकेश चौधरी छन् ।

विश्वमा सञ्चालन हुने विभिन्न खेलहरूमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एपलिकेसन वान एक्स बेट मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने, गराउने कार्य गर्ने, क्रिप्टो करेन्सी ट्रेड गर्ने सक्रिय एजेन्टहरू रहेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई सर्लाहीको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले विभिन्न मोबाइल नम्बरहरूबाट २१ वटा कनेक्ट आइपिएस एकाउन्ट खोली ९८ वटा बैंकका खाताहरू लिंकअप गरी हालसम्म ५७ करोड ४१ लाख ५७ हजार १ सय ४७ रूपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको छ । उनीहरूको साथबाट विभिन्न कम्पनीका मोबाइल सेट ९ थान, सिमकार्ड २१ थान, ल्यापटप २ थान, सिपियू १ थान, नगद ६२ हजार रूपैयाँ, विभिन्न सहकारीको पासबुक ११ थान, बैंकको चेकबुक १६ थान र डिपोजिट भौचर ११ थान समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ (सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता विरुद्धको कसुर) अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *