नेपालमा ऐतिहासिक उडान गर्ने भारतीय फाइटर पाइलट सिंहको निधन

दोस्रो विश्वयुद्धमा आफ्नो उडान कौशलले सारा विश्वलाई प्रभावित गर्ने र नेपालको ऐतिहासिक हवाई उडान गर्ने भारतका वरिष्ठ लडाकु पाइलट रहेनन् । दोस्रो विश्वयुद्धमा बर्मा (म्यानमार) मा असाधारण वीरता देखाउने स्क्वाड्रन लिडर (निवृत्त) दलीप सिंह (डीएस) मजिठियाको १०३ वर्षको उमेरमा निधन भएको हो ।

उनी भारतीय वायुसेनाको सबैभन्दा पुरानो फाइटर पाइलट मानिन्छन् । स्क्वाड्रन लिडर मजिठिया जुलाई महिनामा आफ्नो १०४ औं जन्मदिन मनाउन लागेका थिए । केवल ७ वर्षको छोटो करियरमा उनले विभिन्न मोर्चामा लडे, धेरै पदकहरू जिते ।

आफ्नो काकाबाट प्रभावित सिंह सन् १९४० मा वायुसेनामा भर्ती भएका थिए, जतिबेला भारत ब्रिटिश शासनको अधीनमा थियो । त्यतिबेला दोस्रो विश्वयुद्ध चलिरहेको थियो, त्यसैले ब्रिटिस सरकारले सिंहलाई बर्मा मोर्चामा पठायो ।

यस अवधिमा सिंह लडाकु विमान हकर हरिकेनको साथ बर्मामा डटिरहे । सात वर्षको विशिष्ट करियरमा डीएस मजिठियाले १३ विभिन्न प्रकारका विमानमा ११ सय घण्टाभन्दा बढी उडान भरेका छन् ।

स्क्वाड्रन लीडर दलीपले आफ्नो पहिलो उडान ५ अगस्ट १९४० मा र आफ्नो पहिलो एकल उडान २२ अगस्टमा गरेका थिए । जुन १९४१ मा, स्क्वाड्रन लिडर मजिठियालाई सेन्ट थमस माउन्ट, मद्रासमा रहेको नम्बर १ सीडीएफमा तैनाथ गरियो, जहाँ उनले अर्को १५ महिना बिताए । यस अवधिमा, डीएस मजिठियाले वापिटी, हार्ट, अडाक्स र एटलान्टा लगायतका धेरै विमानहरू सञ्चालन गरे र तटीय सुरक्षा मिसनहरू गरे ।

मजिठियाले कोहाटमा रहेको पाकिस्तानी वायुसेनाको नम्बर ३ स्क्वाड्रनमा असगर खान (जो पछि पाकिस्तानी वायुसेनाका प्रमुख बने) र मेजर साम मानेकशा (पछि भारतका फिल्ड मार्शल) सँग उडान गरे । यस अवधिमा उनले स्थानीय आदिवासी विद्रोहीहरूविरुद्ध बम विष्फोटदेखि लिएर जासुसी र पर्चाहरू खसाल्नेसम्मका धेरै अपरेशनहरू सञ्चालन गरेका थिए ।

अराकान (म्यानमार), बेगमपेट र दिल्लीको मुख्यालयमा केही समय सेवा गरिसकेपछि, दलीपलाई डिसेम्बर १९४५ मा अन्तर्राष्ट्रिय असाइनमेन्टमा अस्ट्रेलिया पठाइयो । त्यतिबेला दोस्रो विश्वयुद्ध सकिएको थियो । उनलाई अष्ट्रेलियाको संयुक्त चिफ अफ स्टाफको सम्पर्क अधिकारी नियुक्त गरिएको थियो ।

भारत स्वतन्त्र हुनुभन्दा केही महिनाअघि अर्थात मार्च १९४७ मा मजिठियाले वायुसेनाबाट अवकाश लिएर आफ्नो व्यवसाय सुरु गरेका थिए । तर उनको उड्डयनप्रतिको मोह भने समाप्त भएन । त्यसको दुई वर्षपछि अर्थात् अप्रिल १९४९ मा काका सुरजित सिंह मजिठियासँगै उनले नेपालको राजधानी काठमाडौंमा पहिलो ऐतिहासिक अवतरण गरेका थिए ।

त्यसबेला सुरजित सिंह नेपालका लागि भारतीय राजदूतमा थिए । नेपालको राजपरिवारको आग्रहमा सुरजित सिंहले काठमाडौं विमानस्थलको धावनमार्ग जसोतसो तयार पार्न लगाएका थिए । दलीप सिंहले मुजफ्फरपुरबाट उडेर काठमाडौंको कच्ची रनवेमा अवतरण गरेका थिए । त्यतिबेला यो धावनमार्ग १५०–२०० गज मात्र लामो थियो । यस अवधिमा दलीप सिंहले आकाशबाट बागमती नदी देखेर मात्रै काठमाडौं पुगेको अनुमान गरेको उल्लेख गरेका छन् ।

दलीप सिंह गोरखपुरको सरायामा बसे र कार व्यवसायसँगै उनले स्टिल मिल पनि खोले । आज गोरखपुरमा रहेको वायुसेनाको बेस कुनै समय दलीपसिंह मजिठियाको भूमि थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *