कतारका अमिर अल थानी नेपाल भ्रमणमा आउँदै, के छन् एजेन्डा ?

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने भएका छन् । यहि वैशाख ११ र १२ गते उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । कतार तथा खाडी मुलुकबाट यो हालसम्मकै उच्चस्तरीय भ्रमण हो ।

भ्रमणको क्रममा अल थानीलाई एक जोडी हात्ती उपहार दिने तयारी नेपाल सरकारले गरेको छ । चितवनमा पालिएका हात्ती उपहार दिन लागिएको हो ।

भ्रमणको क्रममा नेपालले कतारसँग नयाँ श्रम सम्झौता गर्ने तयारी गरेको छ । १९ वर्षअघि नेपाल र कतारबीच श्रम सम्झौता भएको थियो । त्यसयताको परिवेश धेरै फेरिइसकेकाले श्रम मन्त्रालयले नयाँ श्रम सम्झौता गर्नका लागि तयारी गरेको हो । कतार नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलुक पनि हो ।

श्रम मन्त्रालयले नेपाली कामदारको सीप विकासका लागि पनि सहकार्य गर्न चाहेको जनाएको छ । श्रममन्त्री डोलप्रसाद अर्यालले कतारी राजदूत मिसाल बिन मोहम्मद एलएई अन्सारीसँग सोमबार मन्त्रालयमा भेट गर्दै सीपयुक्त जनशक्ति उत्पादनको विकासमा कतारको सहयोगको अपेक्षा राखेको बताएका थिए । जवाफमा कतारी राजदूतले पनि सहयोगका लागि कतार तयार रहेको बताएका थिए ।

भ्रमणको क्रममा नेपाल सरकारले कान्ति बाल अस्पतालको स्तरोन्नतिका लागि झन्डै ९ अर्ब बराबरको सहयोगको सम्झौताका लागि प्रस्ताव गर्ने भएको छ ।

यसअघि गत वर्ष कात्तिक २० र २१ गते हुने भनिएको अमिरको नेपाल भ्रमण इजरायल–हमास युद्धका कारण स्थगित भएको थियो । भ्रमणका क्रममा अमिरले राष्ट्रपति रामचन्द्र पौडेल लगायत अन्य उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा विभिन्न ११ वटा सम्झौता गर्ने तयारी समेत भएको कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले बताए ।

अल थानीले सन् २०१३ देखि कतारको शासनसत्ता सम्हाल्दै आएका छन् । उनी यसअघिका अमिर हमाद बिन खलिफा अल थानीका चौंथो छोरा हुन् । उनले कतारका विभिन्न सरकारी पदहरुको जिम्मेवारी सम्हालिसकेका छन् । खेल र स्वस्थ जीवनको बढावा दिन उनले भूमिका निर्वाह गर्दै आएका छन् ।

गत मंसिरमा कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल मुरैखी नेपाल भ्रमणमा आएका थिए । त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत नेतासँग उनले भेटघाट गरेका थिए । नेपालले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर