भारतको सहयोगमा दार्चुलामा दुई विद्यालय भवन बन्ने

भारत सरकारको सहयोगमा दार्चुलाको व्यास गाउँपालिका–६ स्थित श्री हिमालय माध्यमिक विद्यालयको विद्यालय भवन बन्ने भएको छ । त्यस्तै दुहुँ गाउँपालिकास्थित श्री जनविकास माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन गरिएको हो ।

व्यास गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र भारतीय राजदूतावास काठमाडौँका द्वितीय सचिव प्रशान्त कुमार सोनाले भारत सरकारको नेरु. २.८२ करोड आर्थिक सहयोगमा निर्माण हुने हिमालय माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास गरे । त्यसैगरी ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत नेरु. ३.३७ करोडमा निर्माण गरिएको श्री जनविकास माध्यमिक विद्यालयको विद्यालय भवनको दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग व्यास गाउँपालिकास्थित श्री हिमालय माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवन, शौचालय, पर्खाल र प्रवेशद्वार निर्माणमा उपयोग गरिनेछ । त्यस्तै भारत सरकारको अनुदान सहयोग दुहुँ गाउँपालिकास्थित श्री जनविकास माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौता अन्तर्गत यी दुवै परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो ।

श्री हिमालय माध्यमिक विद्यालयका लागि परियोजनाको कार्यान्वयन व्याँस गाउँपालिकामार्फत गरिनेछ भने श्री जनविकास माध्यमिक विद्यालयका लागि परियोजनाको कार्यान्वयन दुहुँ गाउँपालिकामार्फत गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर