रक्सी कलेजोका लागि सबैभन्दा खतरनाक

कलेजोसम्बन्धी रोगबारे जनचेतना जगाउन र कलेजोको स्वास्थ्य प्रवर्द्धन गर्न हरेक वर्ष अप्रिल १९ (७ वैशाख) को दिन विश्व कलेजो दिवस मनाइन्छ । यस दिवसको महत्वको बारेमा मानिसलाई शिक्षित गराउने, कलेजो रोगको प्रारम्भिक पहिचान र उपचारका लागि पैरवी गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

यस वर्षको दिवसको नारा, ‘सतर्क रहनुहोस्, नियमित कलेजो जाँच गराउनुहोस्, र फ्याटी लिभर रोगबाट बच्नुस्’ रहेको छ । अर्थात् प्रारम्भिक चरणमा कलेजोको समस्या पहिचान र रोकथाम गर्नुपर्छ जसले गर्दा बोसोयुक्त कलेजो रोगबाट बच्न सकिने कुरालाई इङ्गित गर्दछ ।

कलेजो मानव शरीरको महत्वपूर्ण अङ्ग हो । कलेजो स्वस्थ्य राख्न खानपान र रहनसहनमा ध्यान दिनसके विभिन्न समस्याबाट बच्न सक्ने विज्ञ बताउँछन् । वरिष्ठ कलेजो रोग विशेषज्ञ प्राडा युवराज शर्माले भन्छन्, ‘कलेजोले शरीरमा महत्वपूर्ण भूमिका खेल्छ । यसले पाचन प्रणालीदेखि शरीरलाई चाहिने विभिन्न तत्व निर्माण गर्दछ । नचाहिने विकार तत्वलाई शुद्धीकरण गर्दछ । खानपान र रहनसहन नै कलेजो स्वस्थ राख्ने महत्वपूर्ण कुरा हुन् ।’

उनका अनुसार धेरै चिल्लोपदार्थ सेवन नगर्ने, नियमित व्यायाम गर्ने गर्नुपर्छ, जसले गर्दा कलेजोमा बोसोको मात्रा जम्न दिँदैन । कलेजोमा बोसो जम्नुलाई ‘फ्याटी लिभर’ भनिन्छ । नेपालमा अधिकांश कलेजोको समस्या देखिएकामा रक्सीको अधिक सेवन प्रमुख कारण रहेको छ । त्यसैगरी हेपटाइटिस ‘बी’, ‘सी’को सङ्क्रमण, आनुवंशिक कारण पनि कलेजोको समस्या देखिने गरेको चिकित्सकको भनाइ छ ।

‘रक्सीजन्य पदार्थले सबैभन्दा धेरै कलेजोमा क्षति गरेको देखिन्छ । लिभर रक्सीजन्य पदार्थमा सिमितता वा सकेसम्म प्रयोग नगरेकै राम्रो हुन्छ”, डा शर्माले भन्छन्, ‘बच्चालाई हेपाटाइटिस भाइरसको सङ्क्रमणविरुद्ध खोप लगाउनुपर्छ । आनुवंशिक कारणले निम्तिने समस्या पनि छ । परिवारमा कोही सदस्यलाई समस्या छ भने अरुले एकपटक जाँच गर्नुपर्छ ।’

वर्षमा एक पटक कलेजोको अवस्था ठीक छ वा छैन भनेर लिभर फङ्सन टेस्ट (एलएफटी) गराउन चिकित्सकको सुझाव छ । यो सुविधा हरेक सरकारी तथा निजी प्रयोगशालामा सर्वसुलभरुपमा उपलब्ध छ ।

नेशनल हेल्थ सर्भिस (एनएचएस), युकेका अनुसार कलेजोमा समस्या आयो भने खाना रुचि नहुने, वाकवाकी लाग्ने, जीउमा कमजोरी महसुस हुने, बिरामी भइराख्ने लक्षण देखिन सक्ने हुन्छ ।

डा. शर्माले समस्या बढ्दै जाँदा जन्डिसको लक्षणजस्तै आँखा पहेँलो हुने, छाला पहेँलो हुने, छ महिनाभन्दा बढी लगातार कलेजोमा समस्या भयो भने ‘क्रोनिक लिभर डिजिज’ हुन सक्ने बताउँछन् । ‘यसले गर्दा पेटमा पानी आउने, पेटको अमाशयमा नशा फुल्ने, नशा फुटने, रगत उल्टी हुने, रगत दिसा जाने, छालामा विभिन्न प्रकारका दाग जस्तो लक्षण देखिन थाल्छन्,’ उनी भन्छन् ।

उनले कलेजोले काम नै नगर्ने अवस्थामा पुग्यो भने प्रत्यारोपण गर्नुपर्ने अवस्था आउने भएकाले सुगर तथा कोलेस्ट्रोलका बिरामीले नियमित जाँच गराइराख्नु पर्ने बताए ।

स्रोतः आइएनएस–स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *