ओलीप्रति माधव नेपालको टिप्पणी- अरुलाई चुनौति दिने काम नगरौँ

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीको नाममा हुने खेलकुद प्रतियोगिताप्रति आपत्ति जनाएका छन् ।

शनिवार पार्टीको कोशी प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओलीमा व्यक्तिवाद भएकाले आफ्नै नाममा प्रतिष्ठान खोल्ने गरेको, खेलकुद प्रतियोगिता आयोजना गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । अध्यक्ष नेपालले बुर्जुवा पार्टीमा पनि ज्युँदो नेताको नाममा प्रतिष्ठान खोल्ने, खेलकुद प्रतियोगिता गर्ने चलन नभए पनि ओलीको व्यक्तिवादी चरित्रकै कारण त्यो सम्भव भएको बताए । अध्यक्ष नेपालले २० वर्ष अझै पार्टीको नेतृत्व गर्छु भने पनि ओलीलाई चुनौति दिनेहरु जन्मिएको दाबी गरे । देश र जनताको सेवा गरौं भन्नुपर्नेमा ओलीले आफ्नो विकल्प नभएको भन्दै चुनौति दिँदै हिँडेको अध्यक्ष नेपालको भनाई थियो । उहाँले ओलीप्रति संकेत गर्दै मिठो बोल्न, देश र जनताको हितमा काम गर्न पनि आग्रह गरे ।

नेपालले भने, ‘एउटा पार्टी छ, जसले आफ्नो नेताको नाममा प्रतिष्ठान खोलिदिएको छ । आफ्नै नेताको नाममा खेलकुद प्रतियोगिता गरिदिएको छ । ज्युँदै फेरि । पुष्पलालको नाममा भएको भए राम्रै हुन्थ्यो । मनमोहनजीको नाममा भएको भए गज्जवको राम्रो हुन्थ्यो । मदन भण्डारीको नाममा भएको भए क्यावातको कुरा हुन्थ्यो । बुर्जुवा पार्टीले पनि त्यसो गर्दछन् । बिपी कोईरालाको नाममा गर्छ । गणेशमानको नाममा गर्छ । तर आफ्नै नाममा ग¥या छ । यसलाई भन्छन्–व्यक्तिवाद । अनि त्यही व्यक्तिवाद बोक्नेले के भन्छ भने–२० वर्षसम्म कसैले नेतृत्व ताक्छ त ? यस्तो भन्नुहुँदैन । राम्रो कुराको पो गर्ने हो । हामी सबै बाचुन्जेल देश र जनताको सेवा गरौं है, लिएर जानु के छ र है भनेर भन्नु पो प¥यो त । चुनौति दिने होइन । होइन भने चुनौति दिने अरु पनि जन्मेका छन । यो हेक्का होस् । समाजमा सम्बन्धहरु किन बिग्रन्छन ? किनभने व्यवहार गर्न नजानेर । अहंकार बोकेर । अरुको मानमर्दन गरेर । अनि अरुलाई दास सरह व्यवहार गरेर । यसरी सम्बन्धहरु बिग्रने गर्दछन् । त्यसो हुनाले म हाम्रो पार्टीको तर्फबाट यतिमात्रै भन्न चाहन्छु–ज्ञान पनि दिन चाहन्न म । बुद्धि पनि दिन चाहन्न । ज्ञान र बुद्धिका पोका त अन्त्यै छन होला । तर मिठो बोलौं, राम्रो बोलौं । भलो गरौं, दिमागमा तीन वटा कुरा राखौं–देशको हितको रक्षा गर्ने कसरी, देशको इज्जत र प्रतिष्ठालाई उठाउने कसरी, देशभक्त नागरिक हामी बन्ने कसरी ? यो कुरामा ध्यान दिऊँ । जनताको सेवा गर्ने कुरामा समर्पित बनौं ।’

अध्यक्ष नेपालले ओलीले अरुको मानमर्दन गर्ने गरेको गुनासो पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर