अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर लगानी गर्ने

अर्थमन्त्री वर्षमान पुनले अप्पर अरुणको १ हजार ६५ मेगावाट विद्युत् उत्पादन गर्न विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने सहमति भएको बताएका छन् ।

शनिबार अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठक सकेर स्वदेश फर्किएका पुनले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा सस्तो ब्याजको ऋण दिने र विश्व बैंकले वित्तीय व्यवस्थापन गर्ने सहमति भएको बताएका हुन् ।  उनले ६३५ मेगावाट दुधकोशीमा एडिबीले नेतृत्व गर्ने तर विश्व बैंकले पनि लगानी गर्ने बताए । पुनले नेपालमा विदेशी लगानीकर्ताहरूको बाहुल्यता भएको मुलुकमा अमेरिका तेस्रो स्थानमा रहेको र आगामी लगानी सम्मेलनबाट थप लगानी गर्न इच्छुक भएको बताएको जानकारी दिए ।

उनले भने, ‘विश्व बैंकका तीन जना अलगअलग उपाध्यक्षहरूसँग भेट भयो । अरु उच्च स्तरका पदाधिकारीहरू, प्रबन्ध निर्देशकहरूसँग पनि भेट भयो । सबै मिलाउँदा विश्व बैंकसँगको कुराकानी राम्रो भयो । खासगरी हामीले हरित ऊर्जामा जोड गरिरहेको कुरा । त्यसमा अप्पर अरुणको १ हजार ६५ मेगावाट विद्युत् उत्पादनलाई तयारी अवस्थामा छ, हाम्रो अध्ययन । त्यसमा विश्व बैंकले नेतृत्व गर्नुपर्छ भनेर हामीले सस्तो ब्याजको ऋणको लागि अनुरोध गरिरहेका थियौँ । यस पटकको बैठकको एउटा सफलता भनेको विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने । सस्तो ब्याजको ऋण, सफ्ट लोन दिने र उसले नेतृत्व गर्ने । अरू बैंकहरु पनि छन् । ६ वटा बैंकहरु छन् अरू । तर त्यसको नेतृत्व विश्व बैंकले गर्ने सहमति भएको छ । त्यो महत्त्वपूर्ण सहमति हो । ६३५ मेगावाट दुधकोशीमा पनि एडिबीले नेतृत्व गर्छ तर वर्ल्ड बैंक पनि त्यसमा हुन्छ । त्यसमा पनि सकारात्मक कुरा भएको छ ।’

अर्थमन्त्री पुनले अमेरिकी चेम्बर अफ कमर्सले आइटी लगायतका क्षेत्रमा लगानी गर्ने बताए । ‘समग्रमा हेर्दा अहिलेको लगानीमा अमेरिकन लगानीकर्ताहरू तेस्रो ठुलो लगानीकर्ताहरू नेपालमा रहेछन् । थप लगानी गर्न अमेरिकन लगानीकर्ताहरू तयार र उत्साहित रहेको पायौँ । लगानी सम्मेलनमा अमेरिकाको चेम्बर अफ कमर्सको उपाध्यक्ष नै उपस्थिति हुने स्वीकार गर्नुभएको छ । थप लगानी पनि घोषणा हुने भनिएको छ । आइटी लगायतका क्षेत्रमा लगानीको घोषणा हुँदैछ, सकारात्मक छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर