विकल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, सुनिल पौडेलले गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले यसअघि पनि पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांकको खरिदमा अनियमितता गरेको भन्दै उनीविरुद्ध २ अर्ब ६९ करोड रुपैयाँ मागदाबीसहित मुद्दा हालेको थियो ।

यसपटक अख्तियारले आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरेको हो । पौडेलले अमेरिकाको पीआर लिइसकेपछि पनि नेपालको सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेको आरोप उनीमाथि छ ।

गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा पक्राउ परेका उनलाई विशेष अदालतको अनुमतिमा म्याद थप गरेर अख्तियारले अनुसन्धान गरिरहेको छ ।

यसअघि पौडेलसहित ९ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । पौडेल, सि.डि.ई., इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रा.लि., मेपटेक विल्डिंग सर्भिसेस प्रा.लि., परामर्शदाता वास्तुशिल्प एसोसिएट्स समेतका निर्देशक गरी ९ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले पौडेलविरुद्ध ६९ करोड ८ लाख, सीडीई नवीन कुमार पोखरेलविरुद्ध ४९ करोड ४६ लाख, रमेश पोखरेलविरुद्ध २० करोड ३८ लाख र शाखा अधिकृत मनिकलाल महर्जनविरुद्ध ३ करोड ४४ लाख बिगो दाबी गरेको छ । त्यस्तै लेखा अधिकृत रामबहादुर बुढाविरुद्ध १९ करोड ८८ लाख, शाखा अधिकृत शिशिष उपाध्यक्षविरुद्ध ४० करोड, रोहितमान प्रधानविरुद्ध २३ करोड ४४ लाख, भुवन महर्जनविरुद्ध ४३ करोड ५७ लाख र मित्रलाल गुरौविरुद्ध ८ लाख बढी बिगो दाबी गरेको छ ।

यस्तै, अख्तियारले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । गत माघ १० मा पक्राउ गरेका उनले पदमा रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारले ठहर गरेको हो ।

यसअघि सुनिलविरुद्ध अख्तियारले दायर गरेको पेमेन्ट गेटवेको मुद्दामा उनलाई विशेष अदालतले दोषी ठहर गरेको थियो । विशेष अदालतले कसुर निर्धारणका लागि २५ वैशाखमा पेशी तोकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर