दोहाबाट काठमाडौं आएको कतार एअरवेजमा महिलामाथि दुर्व्यवहार

दोहाबाट काठमाडौं आएको कतार एअरवेजको उडानमा एक जना पुरुष यात्रुले महिला यात्रु र चालक दलका महिला सदस्यमाथि दुर्व्यवहार गरेका छन् । गत बिहीबारको उडान नम्बर क्युआर ६४६ विमानमा अमेरिकाबाट आएका कृष्णप्रसाद कँडेलले अमेरिकाबाटै आएकी महिला यात्रुमाथि दुर्व्यवहार गरेको प्रहरी रिपोर्ट छ ।

अमेरिकी राहदानी नम्बर ६६४४१२९११ वाहक कँडेलले सँगैको सिटमा बसेकी महिलामाथि रक्सीले मातेर अश्लिल शब्द बोल्दै शरीरमा हात लगेको कतार एअरवेज ब्यवस्थापनले हालेको उजुरमा उल्लेख छ । एअरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई सोही दिन लेखेको पत्रमा यी सारा व्यहोरा खुलाइएको छ । कँडेलको सिट नम्बर ३५ जी थियो भने महिलाको ३५ ई ।

उनै महिला यात्रीको गुनासोपछि चालक दलका सदस्यले अर्को सिटमा सारे पनि कँडेलले अश्लिल शब्द बोल्न छाडेनन् । विमान अवतरण क्रममा शौचालय छिर्न खोज्दा एअर होस्टेसलाई पनि हातले छोएर दुर्व्यवहार गरेको उजुरीमा उल्लेख छ । अति भएपछि विमानका क्याप्टेनले टावरमा खबर गरेको र विमान अवतरणलगत्तै उनलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी पठाइदिन आग्रह गरेको बिमानस्थलका महाप्रबन्धक निरौलाले बताए । विमान अवतरणपछि दुर्व्यवहार भोगेकी महिलालाई प्रहरीमा उजुरी दिन आग्रह गर्दा आफ्नो परिचय खुल्ने र सामाजिक रुपमा अप्ठ्यारोमा पर्न सक्ने भन्दै उनले नमानेको कतार एअरवेजको भनाई छ ।

तर,चालक दलका सदस्यमाथि भएको दुर्व्यहारबारे क्याप्टेनको तर्फबाट कतार एअरवेजका अर्पन दवाडीले लिखित उजुरी हाल्दै कँडेलमाथि आवश्यक कारबाहीको माग गरेका छन् । उनीमाथि कतारको नागरिक उड्डयनसम्बन्धी कानुनको दफा १०५ को उपदफा १, २ र ३ उल्लंघन गरेको आरोप लगाइएको छ । जसमा उडानसम्बन्धी नियम पालना नगरेको,चालक दलका सदस्य र यात्रुमाथि गलत कार्यसँगै यौन दुर्व्यवहार गरेको भन्ने उल्लेख छ ।

महिला यात्रुले कतार एअरवेजले लगाएको चार्जसिटमा भने दस्तखत गरेकी छन् । उनीसँगै उडान कमाण्डर राम संघेराले पनि त्यसमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर