लाल मोहम्मद हत्यादेखि सुरेश केडिया अपहरणका नाइके बब्लु परे ‘कोबरा’को फन्दामा

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि नै जोखिम मोलेर काम गर्ने अनि विवाद तथा चर्चामा रहिरहेका एसपी कुमुध ढुङ्गेल फेरि एकपटक चर्चामा छन् । आइतबार राति भारत र नेपालमा अपराधका पछिल्ला खेलाडी बनेका बब्लु पासवानलाई गोली हानेर नियन्त्रणमा लिएपछि पर्सा प्रहरी प्रमुख रहेका एसपी ढुङ्गेलको चर्चा सुरु भएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा बब्लुले २०७३ जेठ १३ गते बारा महागढीमाई नगरपालिका–१ पसाहा पुल नजिक वीरगंज बस्ने सुरेश केडियाको अपहरण गर्ने मुख्य योजनाकार रहेको, २०७९ असोज ३ गते काठमाडौं गोठाटारस्थित लाल मोहमदको हत्यामा सलंग्न रहेको, भारतमा रही पर्सा लगायत तराईका जिल्लाहरूमा अपहरण गर्न लगाउने, साना हतियार तथा लागूऔषधको कारोबार गर्ने गरेको, नेपाली अपराधीहरूलाई भारतमा संरक्षण गर्ने गरेको, उद्योग व्यसायीहरूलाई फोन गरी रकम माग गर्ने तथा ज्यान मार्ने धम्की दिने गरेको समेत खुल्न आएको छ ।

वीरगन्ज महानगरपालिका–१६ भुटनदेवीमा प्रहरी चेकिङको क्रममा भारत विहार पूर्वी चम्पारण रक्सौल बस्ने ४५ वर्षीय बब्लु भाग्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट हतियार र लागुऔषध बरामद भएको प्रहरीले बताएको छ ।

पासवान काठमाडौंको गोठाटारमा २०७९ असोज ३ मा लाल मोहम्मदको हत्या घटनाका आरोपित पनि हुन् । लालको आफ्नै घरबाहिर गोली हानी हत्या भएको थियो । प्रहरीले उक्त घटनामा बब्लुले हतियार व्यवस्थापन गरेको जनाएको थियो ।

उनको साथबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, त्यसको गोली २ राउण्ड, अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४९ ग्राम र गाँजा ८ सय ८० ग्राम बरामद गरिएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतबाट वीरगन्ज बजारतर्फ आउँदै गरेको बिआर ०५ एएल ६१३९ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा उक्त स्थानमा नरोकी भाग्न खोजेकोले नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली फायर गर्दा पासवान घाइते भएका थिए ।

उनलाई तत्काल उपचारको लागि नारायणी अस्पताल वीरगंज लगिएकोमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

काठमाडौंमा अपराधको पारो उच्च तहमा रहँदा तत्कालीन काठमाडौं प्रहरी प्रमुखहरुले अपराध नियन्त्रणका लागि गठन गरेको विशेष दस्ताको नेतृत्व तत्कालीन इन्स्पेक्टर कुमुधले गरेका थिए । त्यसबेला अपराध नियन्त्रणमा खटिएको यो टोलीलाई कोबरा टोली भनिने गरिन्थ्यो । पछि यही टोलीको नाममा एसपी कुमुधलाई समेत कोबरा उपनाम दिइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर