वैदेशिक रोजगारीका नाममा ४२२ जनाबाट ३ करोड ठगी

नेपाल प्रहरीले वैदेशिक रोजगारीको सिलसिलामा बुल्गेरिया, न्युजिल्यान्ड, रोमानिया, सर्बिया, क्रोयसियासमेतका देशहरुमा पठाउने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशहरुमा पठाउने भनी आफ्नो नक्कली नाम बताई अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाई सिमकार्डसमेत निकाली ४२२ जनालाई ठगी गर्ने गिरोह पक्राउ परेको बताए ।

पक्राउ पर्नेमा जिल्ला धादिङ, जीवनपुर गाविस हाल धुनिबेँसी नगरपालिका–४ घर भएका आफ्नो नाम जीवा गौतम बताउने रमेश बयलकोटीलाई छन् । बयलकोटीले कीर्तिपुर नगरपालिका–६ बस्ने ललितजंग बमलाई भिजा प्लस प्राइभेट लिमिटेड नामको कम्पनी दर्ता गर्न लगाई ठगी धन्दा चलाउँदै आएका थिए ।

उनले सामाजिक सञ्जालमा वैदेशिक रोजगारीको अवसर रहेको भनी विज्ञापन पोस्ट गरी कन्सलटेन्सीमै बोलाउने गरेका थिए । प्रतिव्यक्ति १० देखि १४ लाखसम्म लाग्ने बताई सुरुमा ५० हजारदेखि ३ लाखसम्म लिने गर्थे । भिसा आएपछि अन्य रकम दिने भनी कर्मचारी खटाई रकम लिने गरेका थिए ।

पक्राउ पर्नेमा अर्का सञ्चालक कालिकोट छाप्रे–६ घर भएका दर्शन नेपाली छन् । उनलाई कागेश्वरी नगरपालिका–७ बाट पक्राउ गरिएको हो । उनीहरुले करिब ३ करोडभन्दा बढी रकम उठाएको प्रहरीले बताएको छ ।

महाराजगञ्जको कन्सलटेन्सीबाट थान २० र दर्शन नेपालको जडिबुटीस्थित कोठाबाट १ र बयलकोटी बस्ने कोठा एकान्तकुनाबाट ६३ गरी ८४ थान राहदानी लगायत १८२ जनाको रेकर्ड फाइल बरामद गरेको पनि एसएसपी भट्टराईले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर