सरकारले श्रमिकका समस्या समाधान गर्न ल्याएको श्रमाधान सेवा के हो ?

श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासा समाधान र सुधार गर्ने उद्देश्यले सरकारले श्रमाधान सेवा सुरु गरेको छ ।

बुधवार १३५ औं विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्नेगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालले श्रमाधान सेवाको सुरु गरेको हो ।

श्रममन्त्री डोलप्रसाद अर्यालले श्रमाधान सेवा सुरु गर्दै स्वदेश तथा विदेशमा रहेका नेपाली श्रमिकका समस्या समाधानका लागि मन्त्रालयको कल सेन्टरले मात्रै नपुग्ने भएकाले श्रमाधान कल सेन्टरभन्दा पनि कार्यक्रमको रुपमा सुरु गरेको बताए ।

मन्त्रालयको बृहत र व्यावहारिक योजना भएको दाबी गर्दै उनले श्रमाधानले नेपाली नागरिकको श्रम र रोजगार सम्बन्धी बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य राखेको जानकारी दिए ।

‘श्रमिकहरुका समस्या समाधानका लागि मन्त्रालयको एउटा कल सेन्टरले मात्रै पुग्दैन भनेर श्रमाधान कल सेन्टर भन्दा पनि कार्यक्रमको रुपमा लिएका आएका छौं । विदेशबाट नेपाल फर्किएका र नेपालमा अवकाश प्राप्त नागरिकहरु सीप, श्रम र अनुभवलाई सक्रिय बनाउन मद्दत गर्ने पहल गर्छ । श्रमाधानमा समावेश सात कार्यक्रमले नेपाली श्रमिकको हित र रोजगारी सिर्जना गर्ने अभियान हो । श्रमाधानमा रोजगार बैंक कार्यक्रम पनि समावेश छ,’ मन्त्री अर्यालले भने ।

उनले रोजगार बैंकमा गौरवका आयोजना र नेपाल सरकारसँग रोजगारदाता र श्रमिक जोडिने गरी काम गरिरहेको बताए । श्रमाधानमा सबै नेपालीहरुको श्रमलाई उच्च प्राथमिकता दिँदै समानताको प्रत्याभूति दिने उद्देश्य श्रमाधान समता कार्यक्रम पनि समावेश रहेको बताए ।

सरकारले श्रमिकका समस्या, गुनासो वा जिज्ञासा समाधान गर्न श्रमाधान कल सेन्टरमा फोन गर्दा पैसा नलाग्ने ११४१ फोन नम्बर समेत सार्वजनिक गरिएको छ । समस्यामा परेको श्रमिकले फोनबाट मात्रै नभएर सामाजिक सञ्जाल लगायत अन्य माध्यमबाट सम्पर्क गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर