‘नेपाली फिल्ममा अब हिरो चाहिँदैन’

नेपाली चलचित्रमा अभिनेत्रीको भूमिका प्रायः अभिनेता केन्द्रित हुनेगर्छ । अर्थात् उनीहरू अभिनेताको जोडी बनेर मात्र पर्दामा देखिने गरेका छन् । केही चलचित्रमा मात्र कथालाई ‘लिड’ गर्ने कार्यभार अभिनेत्रीले पाएका छन् । किनकी धेरै निर्देशक आफ्नो कथाको मुख्यपात्र ‘हिरो’ अभिनेतालाई नै बनाउने गर्छन् । तर, यसलाई तोड्ने पछिल्लो एक चलचित्र हो, ‘बोक्सीको घर’ । यसमा प्रायः कलाकार महिला छन् ।

केकी अधिकारीले निर्माण गरेको चलचित्रमा चिनिने अनुहार उनी मात्र छिन् । यद्यपि चलचित्रले व्यावसायिक रुपमा सफलता प्राप्त गरिरहेको छ । निर्माण पक्षले उपलब्ध गराएको तथ्यांकअनुसार शुक्रबारदेखि सोमबारसम्म चलचित्रको व्यापार रु तीन करोड २४ लाख भइसकेको छ । चलचित्रले चार दिनमै लगानी सुरक्षित गरेर घरेलु बजारमै मुनाफा प्राप्त गरिसकेको छ ।

यो सफलताले केन्द्रीय भूमिकामा महिला कलाकारलाई राखेर चलचित्र निर्माण गर्न अन्य निर्मातालाई हौसला मिलेको छ । अभिनेत्री अधिकारीले कथा मन परेकै कारण यो चलचित्र निर्माण गरेकी थिइन् ।

‘सोही शीर्षकको नाटक हेरेपछि मैले चलचित्र बनाएर धेरै दर्शकलाई देखाउने निर्णय लिएर आँट गरेकी हुँ । सुरुआती समयमा हिरो (अभिनेता) को हो भनेर नसोधिएको होइन, तर अहिले भइरहेको व्यापारले यसपछिका चलचित्रमा अभिनेत्रीलाई मुख्य भूमिका दिन प्रेरणा मिल्ने छ,’ अधिकारीले भनिन् ।

उनले आफूलाई प्राप्त हुने अधिकांश भूमिका अभिनेताकै वरपर रहने किसिमको भएकाले ‘बोक्सीको घर’ जस्ता चलचित्रमा लगानी गरेको बताइन् । अभिनेत्री अधिकारीझैँ चलचित्र ‘मनसरा’ मा शीर्ष भूमिकामा अभिनेत्री मिरुना मगर छिन् । स–साना भूमिकामार्फत चलचित्रमा अभिनयको सुरुआत गरेकी अभिनेत्री मगर अब अभिनेताको वरिपरी घुम्ने पात्रमा आफूलाई प्रस्तुत नगर्ने सोचाइमा छिन् ।

‘आफ्नो पात्रले पार्ने प्रभाव हेरेर म चलचित्र स्वीकार गर्ने कि नगर्ने निर्णय लिन्छु । शीर्ष भूमिकामा आफैँ हुँदा केही दायित्व बढेको महसुस भने हुनेरहेछ,’ अभिनेत्री मगरले भनिन्, ‘अब आउँदो समयमा प्रभावहीन भूमिका गर्दिनँ । किनकि अब अभिनेत्रीलाई अभिनेताकै लागि राख्ने पद्धतिको अन्त्य हुनुपर्छ ।’

अभिनेत्री वर्षा राउतले अभिनेत्रीलाई निर्माता तथा निर्देशकले उपयोग गर्न नसकेको विश्लेषण गरिन् । उनी पनि फरक भूमिकाकै पर्खाइमा छिन् । ‘हामीले निरन्तर काम गरेनौँ भने हराइने डर हुन्छ । त्यसैले अभिनेत्रीलाई धेरै समय पर्खिने समय छैन । यद्यपि हामीलाई शीर्ष भूमिकामा लिन अहिले पनि निर्माता तथा निर्देशकले बजारको कारण देखाउने गरेका छन्’ उनले भनिन् ।

निर्देशक पुर्नेन्दु झाले नेपालसहित भारतमा बन्ने चलचित्रमा शीर्ष पात्रको रुपमा अभिनेतालाई हेर्न बानी परेको बताए । ‘अहिले आइरहेका चलचित्रले विस्तारै अभिनेताको विषयमा स्थापित भाष्यलाई तोड्नेमा विश्वस्त छु,’ निर्देशक झाले भने, ‘यद्यपि अहिलेको सन्दर्भमा बजारले पनि निर्देशकलाई केही कठिनाई दिएको छ । हामीलाई निर्माताको लगानी सुरक्षित गराउने दायित्व पनि हुन्छ, त्यसैले सबैको सल्लाहमा काम गर्नुपर्ने हुन्छ ।’

पछिल्लो समय बनिरहेका केही चलचित्रले अभिनेत्रीलाई पनि शीर्ष भूमिकामार्फत प्रस्तुत गरेको छ । यसको व्यावसायिक सफलताले आगामी दिनमा चलचित्रमा अभिनेत्रीको उपस्थितिलाई निर्देश गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर