आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु

धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टे खोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ ।

गएराति ७० वर्षीय तेजबहादुर लामाको एक तले घरमा आगलागी हुँदा उनी र उनकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले बताए। घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ ।

‘राति करिब ११:३० बजे घरमा आगो लागेको खबर पायौँ । हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा उनीहरूको मृत्यु भइसकेको थियो’, प्रहरी उपरीक्षक केसीले भने ।

यसैबीच गोरखामा आगलागीबाट दुई वटा घर र चार वटा गोठ जलेका छन् । गोरखा नगरपालिका–५, स्थित ठूलोरिपमा घर नजिकै जङ्गलमा लागेको डढेलो बस्तीमा पुग्दा स्थानीय पार्वती राना र रुपा रानाको घर जलेका हुन् ।

आगलागीबाट पार्वतीको दुई कोठे र रुपाको दुई कोठे घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । सोही ठाउँका पूर्णबहादुर मगरको गोठ पनि जलेको उनले बताए । पालुङटार नगरपालिका–९ चालिसेडाँडामा आगलागीबाट तीन वटा गोठमा क्षति भएको छ । गोठमा बाँधेको एउटा गाई पनि मरेको छ ।

यसैबीच, नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले ठूलोरिपका आगलागी पीडितलाई राहत सामग्री उपलब्ध गराएको छ । आगलागीबाट घर र गोठमा क्षति पुगेका परिवारलाई आपत्कालीन सहयोग उपलब्ध गराइएको शाखाका कार्यालय प्रमुख सुवास घिमिरेले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *