लगानी सम्मेलन : चीनका कम्पनीको लगानी कति सार्थक कति घातक ?

नेपालमा हालै सम्पन्न लगानी सम्मेलन अपेक्षाअनुसार सफल हुन सकेन । केही निजी क्षेत्रका कम्पनीबीच साढे ६ अर्ब बराबरको सम्झौता र केही स्वदेशी तथा विदेशी निकायबीच सहकार्यको प्रतिबद्धताबाहेक अन्य उपलब्धिमूलक नतिजा हासिल हुन सकेन ।

सम्मेलनमा सरकारले ४ वटा आयोजनामा पीडीए गर्ने तयारी गरे पनि अन्तिम समयमा नहुने जानकारी दिएको थियो । बोर्डका प्रवक्ता पद्युम्नप्रसाद उपाध्यायले लगानी सम्मेलनमा पीडीए गर्ने भनेर गरिएको तयारी नसकिएको कारण सम्झौता हुन नसकेको बताए ।

यस क्रममा केही चिनियाँ कम्पनीसँग समझदारी र सम्झौता भने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले सोमबार नै चाइना डोंगुआ सिङ लङ लाइटिङ प्रोडक्ट कम्पनीसँग नेपालमा लगानी सहजीकरणका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता गरेको छ ।

सम्मेलनकै क्रममा नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड र चीनको ‘एमएबीसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’ बीच सम्झौता भएको छ । नेक्सजेनले एमएबीसीको मुख्य कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्न सहजीकरण गर्नेछ ।

यस्तै, सम्मेलनको दोस्रो दिन साखः एन्ड कम्पनी र चीनको बोर ग्रुप अफ होटलबीच होटल व्यवसायमा लगानी गर्ने गरी सम्झौता भएको थियो । कपिलवस्तुको गोरुसिंगेमा १ अर्ब ९० करोड (जग्गाबाहेक) खर्चेर होटल बनाउने गरी सम्झौता भएको हो । झापाको दमकमा चीनले बनाउने भनिएको औद्योगिक पार्कको पीडीए गर्ने तयारी भए पनि अन्तिम समयमा रोकिएको थियो ।

विश्लेषकहरु भने चीन वा चिनियाँ कम्पनीका लगानी भित्र्याउने र सहकार्यको विषय कति सार्थक कति घातक भन्ने हेक्का राख्नुपर्ने हुन्छ । विश्वकै पहिलो शक्ति बन्ने होडमा रहेको चीनले विभिन्न महादेशका देशमा लगानी वृद्धि गरिरहेको छ ।

दक्षिण अमेरिकामा ठूलो लगानी गरेको चीन अफ्रिकामा पनि आफ्नो उपस्थिति बढाइरहेको छ । यस्तै, एसियादेखि युरोपसम्म बेल्ट एन्ड रोड इनियसिभ्स (बीआरआई) योजनामार्फत उपस्थिति बढाइरहेको छ ।

तर, चीनले लगानी र योजना निर्माण गरेका देशहरु भने समस्यामा परेका उदाहरण थुप्रै छन् । पछिल्लो समय श्रीलंकाको हम्बनटोटा बन्दरगाहको समस्या, पाकिस्तानमा चिनियाँ हस्तक्षेप, माल्दिभ्समा बढ्दो चिनियाँ उपस्थितिले अन्य देशसँगको सम्बन्धमा उतारचढाव जस्ता समस्या नेपाल नजिकैका यी देशमा देखिएका छन् ।

नेपालमै पनि चिनियाँ ठेकेदार प्रयोग गरिएका अधिकांश आयोजना कि अलपत्र पर्ने वा ढिलो गरी सम्पन्न हुने गरेका छन् । चीनले कुनै पनि परियोजना निर्माणका लागि उपकरण, सामान्यसम्मका मजदुर चिनियाँ नै प्रयोग गर्ने गरेको छ । यसले पनि चिनियाँ लगानी भित्र्याउँदा त्यसले नेपालको अर्थतन्त्रमा पु¥याउने तर्फ ध्यान दिनुपर्ने विश्लेषकहरुको भनाइ छ ।

पछिल्लो समय नेपालका काठमाडौं, पोखरा, चितवनजस्ता पर्यटकीय क्षेत्रमा चिनियाँ लगानीका होटल लगायत पूर्वाधार चिनियाँ लगानीमा नै भित्रिएका छन् । चिनियाँ पर्यटकहरु आउँदा चिनियाँले सञ्चालन गरेको होटल प्रयोग गर्ने, चिनियाँ परिकार खाने र उनीहरुले गर्ने खर्च पुनः चीन नै फर्किने समस्या छ । अन्य पूर्वाधारका आयोजनामा पनि यही समस्या देखिन थालेको हो ।

चिनियाँ लगानी वा ठेकेदार प्रयोग गरिएका अधिकांश नेपाली परियोजनाको अवस्था नाजुक छ । चिनियाँ ऋण लिएर पोखरामा निर्माण गरिएको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको १ वर्षभन्दा बढी बित्दा पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । विमानस्थलको निर्माण, उडानका लागि वरिपरिको वातावरणको योग्यतालगायत विषयमा अहिले प्रशस्त प्रश्नचिह्न उठेको छ ।

नेपाली सेनाले निर्माण गरिरहेको तराई मधेस–काठमाडौं द्रुतमार्गमा चिनियाँ कम्पनीले सुरुङ निर्माण गरिरहेका छन् । त्यहाँ पनि उनीहरुको काम सन्तोषजनक हुन सकेको छैन । बुटलव–नारायणगढ सडक विस्तार कार्यमा पनि चिनियाँ कम्पनी संलग्न छन् । तर, यो योजनाको काम पनि सुस्त छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *