सुदूरपश्चिममा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको बैठक स्थगित

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि बोलाएको आजको प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।
आज अपराह्न ५ः३० बजेका लागि बोलाइएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । यसअघि शुक्रबार अपराह्न ५ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची थियो ।
सत्तासाझेदार नेकपा (एमाले)ले आफूहरुको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने÷नपाउनेमा अझै स्पष्ट हुन सकेको छैन । आज बस्ने प्रदेशसभाको बैठकबारे सबै प्रदेशसभा सदस्यलाई प्रदेशसभा सचिवालयले सूचना गरे पनि नेकपा(एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावल काठमाडौँ गएको बताइएको छ । एमाले अनुपस्थित भएपछि शुक्रबारको बैठक स्थगन गरिएको थियो ।
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता मानबहादुर धामीले बिहीबार बिहानसम्म एमालले मुख्यमन्त्रीलाई विश्वासको मत दिनेमा स्पष्ट देखिए पनि त्यसपछि विश्वासको मतका बारेमा धारणा बदलेको बताए । ‘एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल आज काठमाडौँ जानुभएको भन्ने सुनिएको छ, उहाँ फर्किएर आएपछि विश्वासको मत दिनुहुन्छ होला, यही समीकरण अगाडि बढ्छ,’ उनले भने ।
सोडारीलाई असंवैधानिक ढङ्गले मुख्यमन्त्रीमा नियुक्त गरिएको जिकिर गर्दै नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्रीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने निर्णय गरेको छ ।  शुक्रबार प्रदेशसभाको बैठक आह्वान गरिएपछि नागरिक उन्मुक्ति पार्टी(नाउपा) संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले मुख्यमन्त्री सोडारीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन (ह्वीप) जारी गरेका थिए ।
सोडारी नेतृत्वको सरकारमा नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षधर दुई प्रदेशसभा सदस्य मन्त्री छन् । नाउपा अध्यक्ष रञ्जिता अहिलेकै सत्तागठबन्धनलाई सहयोग गर्नुपर्ने पक्षमा र संस्थापक संरक्षक रेशमलाल चौधरी नेपाली कांग्रेससहितको गठबन्धनको पक्षमा छन् । सो पार्टीमा देखिएको आन्तरिक विवादकै कारण संस्थापक संरक्षक पक्षधर पाँच सदस्यको तर्फबाट प्रमुख सचेतक डगौराले विपक्षमा मत दिन ह्वीप लगाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य, स्वतन्त्र सदस्य डा. तारा जोशीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता सोडारी यही वैशाख ६ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  त्रिपन्न सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र) को सभामुखबाहेक १०, नेकपा (एमाले) को ११, नागरिक उन्मुक्ति पार्टीको सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *