क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल

एचसीजी क्यान्सर अस्पताल बैंगलोरले क्यान्सर नियन्त्रणका लागि नेपालस्थित एक्शन नेपाल र युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल (यूआईसीसी)सँग सहकार्य गर्ने भएको छ । यूआईसीसीका क्यान्सर रोग विशेषज्ञ(अन्कोलोजिस्ट)को सहयोगमा सहकार्य गर्न लागिएको हो ।

एचसीजीद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा यस सहकार्यले नेपालमा विश्वस्तरीय क्यान्सर उपचार, रोकथाम, पुनःस्थापना, हेरचाहमा पहुँच सुधार गर्न मद्दत गर्ने अस्पतालका टाउको र घाँटी शल्यक्रिया विभागीय प्रमुख डा विशाल रावले बताए ।

सहकार्यसँगै सेवा बिस्तारको दायराले नेपालभर निःशुल्क क्यान्सर जाँच शिविर, नियमित रूपमा वैज्ञानिक सेमिनार र चिकित्सा शिक्षा सञ्चालन, नेपालका चिकित्सकलाई क्षमता अभिबृद्धि तालिम प्रदान गर्न सहयोग मिल्नेछ ।

साथै देशमा अत्याधुनिक क्यान्सर शल्यक्रिया सेवासहित क्यान्सर रोगीका लागि प्रारम्भिक निदान र उपचार प्रोटोकल प्रदान गर्नेछ । सो अवसरमा डा रावले नेपाल मेडिकल काउन्सिलसँग प्रारम्भिक क्यान्सर हेरचाह, अनुसन्धान र बिरामी केन्द्रित विशेषज्ञताको सहयोग निरन्तर प्रदान गरिने जानकारी दिए ।

नेपाल सरकारले एचसीजीका सर्जनलाई नेपालभरका विभिन्न अस्पतालमा अत्याधुनिक शल्यक्रिया गर्न अनुमति दिएकाले प्रोत्साहन प्राप्त भएको उनले खुशी व्यक्त गरे । डा रावले अहिलेको अवस्थामा सुधार नल्याए आगामी दश वर्षमा प्रत्येक दशमध्ये एक क्यान्सरपीडित हुनसक्ने उल्लेख गरे ।

त्यसका लागि सूर्तिजन्य र मादक पदार्थ सेवनको परिणाम देखिने गरी घटाउन पर्ने आवश्यकतामा जोड दिए । उनले तरकारी तथा फलफूलमा पछिल्लो समयदेखिको अत्यधिक विषाधि प्रयोगले पनि क्यान्सरको जोखिम बढिरहेको बताए । तमाखु, गुड्का, विडी, खैनीले मुखको क्यान्सलाई हात्तै बढाउने उनको भनाइ छ ।

उक्त सहकार्यबाट नेपालका क्यान्सरपीडित नागरिकका लागि अन्तर्राष्ट्रियस्तरीय क्यान्सरको रोगसम्बन्धी उपचार सेवा पहुँचयोग्य बनाउन अवसर प्राप्त हुनेछ । क्यान्सरको पहिचान गरी प्रारम्भिक चरणमै उपचार गर्नाले जीवन परिवर्तन गर्न सक्ने विषयको प्रचारप्रसार तथा जटिल केसमा थप अनुसन्धान गर्न नेतृत्व गर्न समेत सहकार्यबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अस्पतालका विशेषज्ञ सल्लाहकार डा लोहित रोड्डीले सहकार्यले नेपाल र भारतका क्यान्सरका बिरामीको उपचार र खोज अनुसन्धानमा सुनौलो अवसर प्रदान गरेको बताए । एचसीजी क्यान्सर अस्पतालले स्थापनादेखि नै उपचारमा परिणाम देखिने गरी काम गर्दै आएको छ । त्यसबाट बिरामीलाई दीर्घजीवन र खुशी जीवन प्राप्त गर्न मद्दत गरेको छ ।

अस्पताल सबै क्यान्सरको निदान र उपचारका लागि विश्वको नवीनतम प्रविधिले सुसज्जित रहेको निर्देशक डा रावले बताए । एक्सन नेपाल सन् २०१३ मा नेपालमा सुर्ती नियन्त्रणको अभियानलाई अगाडि बढाउने प्राथमिक लक्ष्यका साथ स्थापना भएको गैरसरकारी संस्था हो । एक्सन नेपालले नेपाललाई धुमपानमुक्त राष्ट्र बनाउने परिकल्पना गरेको छ ।

उक्त संस्थाले विद्यमान सुर्ती नियन्त्रण कानूनको प्रभावकारी कार्यान्वयन र कार्यान्वयन, प्याकेजिङ नीतिको परिचय र पारित, सुर्तीजन्य पदार्थमा कम्तीमा ७५ प्रतिशत करको वकालत, धुमपानरहित कानूनको पालना, प्रतिबन्ध र बिक्री प्रतिबन्धलगाउन कार्यमा सहयोग पुर्‍याउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *