नेपाल र भारतबीच दुई स्थानमा सीमा विवाद : परराष्ट्रमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारतबीच सीमा समस्या विशेषतः दुई ठाउँ सुस्ता र कालापानीमा रहेको बताएका छन् ।

सोमबार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले सीमा समस्या समाधानका निम्ति वार्ता समेत भइरहेको जानकारी दिए । उनले कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न पहल भइरहेको बताए ।

‘नेपाल भारत सीमा समस्या विशेषतः दुईवटा ठाउँमा, सुस्ता र कालापानीको सन्दर्भमा हाम्रो सीमा समस्या समाधान भइसकेका छैनन् । यो औपचारिक वार्ताको टेबुलमा छ । त्यसको निम्ति निश्चित संयन्त्रहरु पनि छन् । तर त्यसले समाधानको बिन्दुमा पुग्ने काम भइसकेको स्थिति छैन । हाम्रो नेपालको भू–भाग औपचारिक रुपले नेपालले नै सार्वभौमसत्ता र भौगोलिक अखण्डता अभ्यास गर्न पाउनेगरी आउनुपर्छ भनेर भनिराखेका छौँ । त्यो बारेमा समाधान भइरहेको छैन । हामी कूटनीतिक माध्यमबाट टेबुलबाट नै समस्याको समाधान गर्नुपर्छ भन्नेमा छौँ । पहल जारी छ,’ मन्त्री श्रेष्ठले भने ।

परराष्ट्रमन्त्रीले सीमा समस्या समाधान नभइसकेको बताइरहँदा गत बिहीबार सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो । सरकारको निर्णयमा बुद्धिजीवीहरुले फरक फरक मत दिएका छन् ।
यस्तै, भारतीय विदेशमन्त्री एस जयशंकरले पनि नेपाल सरकारको निर्णयमा असन्तुष्टि जनाउँदै सीमा समस्याबारे वार्ताबारे छलफल भइरहँदा नेपालले एकतर्फी निर्णय गरेको टिप्पणी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *