एसियामा हरेक वर्ष किन बढ्दै छ गर्मी ?

जलवायु परिवर्तनका कारण एसियाली देशमा अधिक गर्मी र भारी वर्षाको सम्भावना बढेको छ । पछिल्लो वर्ष सन् २०२३ सबैभन्दा बढी गर्मी हुने वर्ष बनेको थियो । यस वर्ष पनि एसियाका विभिन्न देशहरुमा तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । विज्ञहरुले लूको चेतावनी दिएका छन् भने थुप्रै विद्यालयहरु बन्द गरिएको छ ।

‘यस वर्ष पनि गत वर्षको जस्तो अत्यधिक गर्मी र अन्य विपद् जस्तै, बाढी, तुफान आदिको सम्भावना छ,’ अस्ट्रेलियाको नेशनल युनिभर्सिटी (एएनयू) का जलवायु विज्ञाका प्राध्यापक सारा पर्किन्स किर्कप्याट्रिकले बताए ।

विशेषगरी दक्षिण र दक्षिण पूर्वका एसियाली देशका लागि अप्रिल गर्मी र सुख्खाको महिना मानिन्छ । तर, अहिले ती देशहरुले अत्यधिक गर्मीको सामना गरिरहेका छन् । थाइल्यान्डको बैंकक असामान्य रुपमा सुख्खाको सामना गरिरहेको छ । यहाँ थोरै मात्र वर्षा भएको छ ।

जब कि चीनको केही भागमा भारीमा मात्रामा वर्षा भएको छ, जसका कारण आएको बाढीले ठूलो संख्यामा चिनियाँ नागरिकमा हताहती भएको छ । १ लाख १० हजारभन्दा बढी परिवार विस्थापित भएका थिए ।

विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) ले मंगलबार एक प्रतिवेदन सार्वजनिक गर्दै एसिया अझै ठूलो विपत्का लागि तयार हुनुपर्ने चेतावनी दिएको छ । यसका लागि विपत्को पूर्वजानकारी दिने प्रणालीमा लगानी गर्न आवश्यक भएको उक्त संस्थाको भनाइ छ । एसिया अत्यधिक गर्मी, बाढी, तूफानका दृष्टिले विश्वकै सबैभन्दा प्रभावित क्षेत्र हुनसक्ने संस्थाले उल्लेख गरेको छ ।

जलवायु परिवर्तनको असरले श्रमिकको स्वास्थ्यमा पनि असर पुगेको छ । यसले क्यान्सर, श्वासप्रश्वास, मानसिक सम्बन्धी समस्या देखिएको संगठनको भनाइ छ । कार्य क्षेत्रमै हजारौं श्रमिकको मृत्यु अत्यधिक गर्मी र वायु प्रदूषणसँग जोडिएको डब्ल्यूएमओले जनाएको छ ।

जापानमा पनि हिटस्ट्रोकको चेतावनी दिएको छ । सिंगापुरले बाहिर खुला क्षेत्रमा काम गर्ने श्रमिकका लागि गर्मीको स्तरको निगरानी थालेको छ । डब्ल्यूएमओले गत वर्षको अत्यधिक गर्मीको कारण ‘अल निनो’ मानेको थियो । अल निनो मौसमी फेरबदल गर्ने एउटा घटना हो । यसका कारण २०२४ मा पनि अत्यधिक गर्मी हुने अनुमान छ ।

मार्चमा सिंगापुरको मौसम विज्ञान प्राधिकरणले अलनिनोको प्रभावका कारण उसका राज्यमा गत वर्षभन्दा पनि बढी गर्मी हुनसक्ने प्रक्षेपण गरेको थियो ।

विशेषज्ञहरुले हरितगृह ग्यास उत्सर्जन गर्नाले मात्र अहिलेको समस्या समाधान नहुने जनाएका छन् । सर्वसाधारण पनि मौसमसम्बन्धी असामान्य घटनाका लागि तयार हुनुपर्ने उनीहरुको भनाइ छ ।

‘अब हामीले यो अवस्थालाई स्वीकार्नु पर्छ । अब हरितगृह ग्यास उत्सर्जन कम गरेर मात्र समस्या समाधान हुने स्थितिमा हामी छैनौं,’ प्रोफेसेर सारा पर्किन्स किर्कप्याट्रिकले भने, ‘नागरिकलाई अब यस्ता ठूला विपद्को क्रममा कसरी सुरक्षित रहने भन्नेबारे शिक्षा र उपाय दिन जरुरी छ ।’

दक्षिण कोरिया, जसले हालैका वर्षहरुमा अत्यधिक गर्मीको सामना गरिरहेको छ, यहाँका २ सय ५० भन्दा अभियन्ताले सरकारविरुद्ध मुद्दा दायर गरेका छन् । उनले जलवायु परिवर्तनका समस्या कम गर्नका लागि सरकारसँग माग गरेका छन् ।

मुद्दा हालेका मध्येका एक किम सियो–ग्युंगले जलवायु संकटबाट सुरक्षित हुने उपाय आवश्यक भएको बताए । ‘अब हामी त्यो पुस्ता होइनौं, जसलाई स्तरीय जीवनशैली चाहिन्छ, बरु हामी अब त्यस्तो पुस्ता हौं, जो जलवायु परिवर्तनबाट आफ्नो जीवन रक्षा गर्न सक्षम होस्,’ उनले भने । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *