कर्पोरेट सुपर सिक्सेस सिजन–७ को क्वार्टरफाइनल समिकरण तय

माछापुच्छ्रे बैंक र एनसेल लिजेण्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका छन् ।

एसएस इभेण्ट्स प्राली र नेकोसको संयुक्त आयोजनामा मुलपानी क्रिकेट मैदानमा जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा सोमवार क्वार्टरफाइनल समीकरण पूरा भएको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’ को माछापुच्छ्रे र समूह ‘सी’ को एनसेल समान तीन खेल जित्दै समूहविजेताका रूपमा क्वार्टरफाइनलमा पुगेका हुन् । माछापुच्छ्रले सोमवार समूहमा क्लाउड फ्याक्ट्रिलाई १ रन र एनआइसी एशिया बैंकलाई १ विकेटलाई हराउँदै समूह विजेता बन्यो ।

यद्यपि, हारको बाबजुद एनआइसी समूह उपविजेताका रूपमा दोस्रो चरणमा पुग्यो । एनआइसी एसियाले आईतवार नै दुई जित निकालेको थियो । पाँच ओभरमा भएको कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा सोमवार १२ खेल भएको थियो । यता एनसेल लिजेण्ड्सले सोमवार सूर्य नेपाललाई पाँच विकेट र नेपाल बैंकलाई २३ रनको फराकिलो अन्तरले हराउँदै समूह विजेता भयो । यो समूह ‘सी’ मा तीन खेलको समाप्ती सूर्य नेपाल, आइएमई ग्रुप र नेपाल बैंकले समान एक जित निकाले ।

यद्यपि, नेट रनरेटका आधारमा सूर्य नेपाल क्वार्टरफाइनलमा पुग्न सफल भयो । सूर्य नेपालले सोमवार आइएमई ग्रुपमाथि ११ रनको जित निकालेको थियो । यो नै दोस्रो चरणमा पुग्न पर्याप्त बन्यो । समूह ‘बी’ बाट आइसिएफसी फाइनान्स र सिप्रदी शिर्ष दुईमा रहँदै क्वार्टरफाइनलमा पुगे । आइसिएफसी फाइनान्सले सोमवार मुलपानीमा जगदम्बा ग्रुपलाई ५ रन र सिप्रदीलाई १२ रन हरायो । यससँगै समूहमा तीन खेल नै जित्दै आइसिएफसी फाइनान्स दोस्रो चरणमा पुग्यो ।

सिप्रदीले भने दोस्रो दिन जगदम्बा ग्रुपलाई १५ रन र कुमारी बैंकलाई १४ रनले हरायो । सिप्रदीले एक खेल मात्र गुमाउन पुग्यो । समूह ‘डी’ मा तीन टोलीले मात्र प्रतिष्पर्धा गरेका थिए । तीमध्ये सुबिसु दुई खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुग्न सफल भयो । सुबिसुले दोस्रो दिन राष्ट्रिय वाणिज्य बैंकमाथि तीन विकेटको जित निकाल्दै अपराजित यात्रा कायमै राखेको हो । यो समूहबाट राष्ट्रिय वाणिज्य बैंक दोस्रो चरणमा पुग्न सफल भयो ।

वाणिज्य बैंकले पनि सोमवार एनसेल इलाट्समाथि १३ रनको जित निकाल्यो । यो जित नै वाणिज्य बैंकलाई क्वार्टरफाइनलमा पुग्न पर्याप्त भयो । सोमवार भएका अन्य खेलमा समूह ‘बी’ को जगदम्बा ग्रुपले कुमारी बैंकलाई ४ रन, समूह ‘सी’ को आइएमईले नेपाल बैंकलाई १८ रन, समूह ‘ए’ को प्राइम बैंकले क्लाउड फ्याक्ट्रिममाथि ३० रनको जित निकाल्यो । यद्यपि यो जित तीनै टोलीका लागि दोस्रो चरणमा पुग्न पर्याप्त भएन । तीन दिने प्रतियोगिताको क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल मंगलवार नै हुनछन् ।

१५ वटा कर्पोरेट हाउसले प्रतिष्पर्धा गरेको यस सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन् । साथै विजेताले आगामी सिजन फ्रि इन्ट्री पाउने भएका छन् । प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पनि पुरस्कार पाउनेछन् । आयोजकका अनुसार सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिने एसएस इभेन्ट्स प्रालीका निर्देशक सुमित रौनियारले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर