भारतीय प्रधानमन्त्री मोदीले अहमदाबादबाट गरे मतदान

भारतमा जारी लोकसभा चुनावको तेस्रो चरणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गरेका छन् । मोदीले मंगलबार गुजरातको अहमदाबादबाट मतदान गरेका हुन् ।

अहमदाबाद गान्धीनगर सिटअन्तर्गत पर्छ । यो क्षेत्रमा भारतीय जनता पार्टीबाट गृहमन्त्री अमित शाह र कांग्रेसका सोनल पटेल चुनावी मैदानमा छन् ।

मतदानपछि मोदीले भने, ‘यस वर्ष पूरा विश्वमा नै लोकतन्त्रको उत्सव छ । लोकतन्त्रमा मतदान एउटा सामान्य दान मात्र होइन । हाम्रो देशमा दानको छुट्टै महत्व छ । यही भावका साथ देशबासीले मतदान गर्न जरुरी छ ।’

भारतमा आज मंगलबार लोकसभाको ९३ स्थानका लागि मतदान भइरहेको छ । भारतीय निर्वाचन आयोगका अनुसार देशका १२ राज्य र केन्द्रशासित प्रदेशमा मतदान भइरहेको हो ।

तेस्रो चरणमा आसामका ४, बिहारका ५, छत्तीसगढका ७, गोवाका २, गुजरातका २५, कर्नाटकका १४, महाराष्ट्रका ११, मध्यप्रदेशका ८, उत्तर प्रदेशका १०, पश्चिम बंगाल राज्यका ४ र केन्द्रशासित नगर हवेली एवं दामनका २ स्थानमा चुनाव भइरहेको छ ।

यस चरणमा १२० जना महिला सहित एक हजार ३०० उम्मेदवार चुनावी मैदानमा छन् । करिब १७ करोड मतदाता आजको निर्वाचनमा सहभागी हुँदैछन् जसका लागि १ लाख ८५ हजार मतदान स्थल रहेको आयोगको भनाई छ ।
आजका लागि तय भएको जम्मु काश्मिरको अनन्तनाग–रजौरीको निर्वाचन स्थगित गरिएको र उक्त निर्वाचन आगामी मे २५ का लागि तय भएको निर्वाचन आयोगले जनाएको छ ।

सात चरणमा भइरहेको भारतको लोकसभाको निर्वाचन गत अप्रिल १९ तारिखदेखि सुरु भएर आगामी जुन १ तारिखमा सम्पन्न हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर