भारतद्वारा बैतडीमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको तीन करोड १० लाख आर्थिक सहयोगमा बैतडीको पाटन नगरपालिका–४ मा निर्माण हुने भूमेश्वर माध्यमिक विद्यालय भवनको शिलान्यास गरिएको छ ।

पाटन नगरपालिका प्रमुख गौरीसिंह रावल र काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले आज संयुक्तरूपमा भवनको शिलान्यास गरे ।

कार्यक्रममा नगरप्रमुख रावलले नेपालका विकास प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुर्याउदै आएको निरन्तर सहयोगको प्रशंसा गरे । उनले नयाँ बन्ने भवनले विद्यार्थीको गुणस्तरीय शिक्षण सिकाइमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा विद्यालयलाई आवश्यक अन्य सुविधासहितको दुई तल्ले भवन ब्लक–ए र ब्लक–सी गरी दुई खण्डमा निर्माण हुनेछ ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअनुसार यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा अघि बढाइनेछ भने पाटन नगरपालिकामार्फत त्यसको कार्यान्वयन गरिनेछ ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा चार सय ९० वटा परियोजना सम्पन्न भइसकेका र पाँच सय ५१ भन्दा बढी परियोजना अगाडि बढाइएका छन् । यीमध्ये बैतडीमा दुईसहित सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर