०८४ को निर्वाचनलाई उपयोग गरेर जाने होः विप्लव (अन्तर्वार्ता)

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट फेरि चुनावी राजनीतिमा फर्किएको छ । निर्वाचन ०८४ सालमा हुँदै छ, तर यो पार्टीेले चुनावलाई अपरिहार्य मोर्चा भनेर व्याख्या गरेको छ । पार्टीको कपिलवस्तु बैठकपछि आएको नयाँ राजनीतिक प्रक्रिया र आगामी कदमका विषयमा न्युज एजेन्सी नेपालले विप्लवसँग गरेको कुराकानीः

१२ वर्षमा खोलो फर्किन्छ भन्छन्, तपाईंहरुको राजनीतिमा पनि खोला फर्कियो, चुनावी राजनीति छोडेको १२ वर्षपछि फेरि त्यसलाई समाउनु भयो किन ?

तपाईंले भनेको एक हदसम्म ठीकै हो । तर हाम्रा अनुभव र शिक्षाबाट हामी नयाँ ठाउँमा पुगेका छौं ।

०७९ सम्म तपाईंहरु चुनाव बहिस्कार गर्दै हुनुहुन्थ्यो, घट्नाक्रम त्यस्तो के विकसित भयो जसले गर्दा नयाँ निर्णयमा आउनुभयो ?

लेनिनले चुनावबारे दिएको अर्थ र परिभाषाको वरिपरि नै अहिलेको कम्युनिस्ट आन्दोलन घुमिरहेको छ । त्यसमा दुई वटा विषयले एकदमै तरंगित गर्ने गर्छ, एउटा प्रयोग नै प्रयोग उपयोग नै उपयोग भन्ने कुराले, अर्को बहिस्कारै बहिस्कार भन्ने कुराले । एउटा रणनीति भन्ने कुराले अर्को कार्यनीति भन्ने कुरा ।

कम्युनिष्ट आन्दोलनमा चुनावलाई हेर्ने जुन दृष्टिकोणहरु छन्, त्यो अबको २१ औं शताब्दीमा अपूर्ण छन् ।
२१ औं शताब्दीमा जसरी नयाँ अर्थ सम्बन्ध, नयाँ वर्गहरुको विकास भएको छ । नयाँ राजनीतिक विशेषताहरु देखा परेका छन्, विश्वमा प्राविधिक र सूचना क्षेत्रहरु नयाँ बनेका छन् । योबाट चुनावलाई हेर्ने दृष्टिकोण र गर्ने व्याख्या नयाँ बनाउनुपर्छ भन्ने हामीेले विश्लेषण ग¥यौं ।

दोस्रो कुरा नेपालको राजनीति निकै संवेदनशील ठाउँमा पुगेको छ । साम्राज्यवादीहरुको हस्तक्षेप चरम चुलीमा छ, यहाँ राज्य र जनताबीचको अन्तरविरोध पनि नयाँ ठाउँमा पुगेको छ । यो बेलामा हामीले चुनावबारे फरक दृष्टिकोण अपनाउन जरुरी छ । किनकी यो कम्युनिष्ट आन्दोलनसँग पनि सम्बन्धित भएर आएको छ र तात्कालिक राजनीति पनि नयाँ ठाउँमा देखापरेको हाम्रो निष्कर्ष छ । यसकारण हामीले यसलाई प्रयोग गर्न खोजेका छौं ।

तर १२ वर्ष लाग्यो, के हिजो कमजोरी भयो भन्ने अर्थमा बुझ्ने हो ?

कमजोरी होइन, हामीले नयाँ विकासका रुपमा बझेका छौं । यसलाई कार्यनीति र रणनीति तथा बहिस्कार र उपयोगको आँखाले मात्रै हेर्नु हुँदैन, बुझ्नु हँुदैन । राजनीतिको एउटा अनिवार्य मोर्चा जस्तो बन्न गएको छ चुनाव । रणनीति कि कार्यनीति भन्ने शब्दमा अलमिलएर अहिलेको विशेषतामा त्यसलाई पकड्न सकिँदैन भन्ने निष्कर्षका साथ संघर्षको एउटा अपरिहार्य मोर्चाको रुपमा चुनावलाई लिनुपर्छ । चुनाव सम्बन्धी दृष्टिकोण नै नयाँ बनाउनुपर्छ । २० औं शताब्दीको व्याख्याबाट गर्ने हो भने प्रयोगै प्रयोगमा गएर संसदवादमा पुँजिवादमा गएर विसर्जन हुने देखियो कित बहिस्कारै बहिस्कार गरेर यान्त्रिक ढंगले जडसूत्रीय ढंगले विसर्जन हुने देखियो ।

जनता कहाँ छ के चाहिरहेको छ आन्दोलन कहाँ पुगेको संघर्ष कहाँ उठेको छ भन्ने कुरालाई हेरेर आवश्यता अनुसार प्रयोग गर्ने र आवश्यकता अनुसार बहिस्कार गर्ने हो । राजनीतिक आन्दोलनको दिशा त्यसको उचाइ कहाँ छ भन्नेबाट हामील हेर्नुपर्छ र अहिलेको स्थितिमा हामीले यो मोर्चा छोड्न हुँदैन । जनतालाईसँगै लिएर जाने मोर्चाका रुपमा यसलाई प्रयोग गर्नुपर्छ भन्ने हाम्रो छ ।

अघि यहाँले वैदेशिक हस्तक्षेप र षड्यन्त्रको कुरा गर्नुभयो, के चुनावी मोर्चा मात्रै यस्तो ठाउँ देखियो जहाँबाट प्रतिरोध गर्न सकिन्छ भन्ने लाग्यो ?

हिजो नेपालको कम्युनिस्ट आन्दोलनमा, मेरै जीवनकालमा जनयुद्धसम्म एक चोटी बैठक बसे पुग्थ्यो । छिटोमा ६ महिनामा निर्णय ग¥यो अनि दस्तावेज बोकेर गाउँ तिर हिँडेपछि एक वर्षपछि भेट्दा पनि ताजै हुन्थ्यो । धेरै ठूला चिज सोच्नु पर्दैन थियो । अन्तर्राष्टिय सम्बन्धको विशेषता पनि त्यस्तै थियो । तर आज हरेक घण्टा, हरेक मिनेट संसारलाई, जनतालाई जवाफ दिनुपर्ने भइसक्यो । एक्लै बस्छु भन्यो भने जनताबाट आफँै एक्लै पर्ने मात्रै हो, जनता र समाज त्यहाँ चाहीँ बस्दैन अहिले । अन्तर्राष्ट्रिय सम्बन्ध यति तीव्र र निकट भएर गइराखेको छ कि त्यसबाट हामीले नयाँ तरिकाले सोच्नैपर्छ ।

हाम्रा निर्णयहरु अन्तर्राष्टिय परिवेशले यति छिटो परिवर्तन गरिदिन्छ कि त्यसमा हामी रहन सक्दैनौं । तुरुन्तै हामीले नयाँ ढंगले सोच्नुपर्ने हुन्छ । त्यसकारण हाम्रो आन्तरिक छलफल मात्रै निर्णायक र मुख्य हुँदैन । यसलाई कम्युनिष्टहरुले गम्भीरतापूर्वक हेर्नैपर्छ ।

नयाँ व्याख्या गरेको भन्नुभयोे, नेपालमा चुनावमा भाग लिने तपाईंहरु पहिलो हो र, १५ सालदेखि नै लिएको छ त कम्युनिष्ट पार्टीले, यो त लेपन मात्रै लगाएको किन नभन्ने, नयाँ के भन्ने भन्दा यही भन्ने भने जस्तो ?

अब त्यो सकिन्छ । वस्तु त एकै हुन्छ । तर त्यसलाई समयको गहिराईमा कति हेर्न सकिन्छ भन्ने हो । पृथ्वी त यही नै हो नि यो त गोलै छ नि तर कसैले चेप्टो भन्यो कसैले अर्को भन्यो कसैले गोलो भन्यो । भौतिक विज्ञानका नियमहरुको गहिराईमा तपाईं जानुभयो भने त्यति त्यति नयाँ अनुसन्धान हुन्छ ।

ठीक त्यही कुरा समाज विज्ञानमा पनि हो । १६ औं शताब्दीमा शुरु भएका पुँजीवाद उस्तै लाग्छ, ब्रिटेनमा सुरु भएको संसद उस्तै लाग्छ, चार पाँच सय वर्ष पुरानो संसद जस्तै लाग्छ, फ्रान्सेली गणतन्त्र पनि यहाँको गणतन्त्र जस्तो लाग्छ ।

तर त्यस्तो होइन, आजको पुँजीवाद समाजवादको असफलता पछिको हो । हिजोको पुँजीवाद समाजवादसँग हारेको पुँजीवाद हो । चुनाव त चुनावै हो, पुँजीवाद अन्तर्गत हुने चुनाव नै हो । तर बुझाईहरु समाजका विशेषता वर्गहरुको सम्बन्ध, नयाँ वर्गको उदय भइसक्यो । अहिले एक प्रकारले राजनीतिमा निर्णायक प्रभाव पार्ने शक्तिशाली वर्गका रुपमा मध्यम वर्गको विकास भइरहेको छ ।

यसलाई कम्युनिष्टहरुले राम्रो सँग लिन सकिरहेको छैन । यहाँ त भन्न नसकेको देखिन्छ । भन्यो भने माक्र्सवाद विरोधी भइन्छ भनेर हिच्किचाउने । तर समाज नयाँ ठाउँमा आइसकेको छ । चुनाव त उही नै हो तर हामीले बुझ्ने कुरामा धेरै विकास गर्नुपर्छ । एउटै शब्दले पनि आनको तान फरक पार्छ ।

तपाईंले भर्खरै भन्नुभयो नि मध्यम वर्ग, तपाईंहरुको केन्द्रीय समितिले पारित गरेको दस्तावेजमा रास्वपाले मध्यम वर्गलाई समातेको भनेर लेख्नुभएको छ, त्यहाँनेर स्पेस देख्नुभएको हो यो वर्गलाई लगेर जानसक्छौं भनेर ?

रास्वपा आउनु भन्दाअघि नै किरण कमरेड (मोहन वैद्य) हरुसहित हुँदा मैले आठौं महाधिवेशनमा अबको क्रान्तिमा मिडिल क्लासको प्रभाव निर्णायक जस्तो भएर आउँदैछ यो कुरा हेर्नुपर्छ भनेर प्रश्ताव गरेको थिएँ । दोस्रो यो मिडिल क्लासलाई हेर्ने कुरा पनि हामीले फेर्नुपर्छ । यो लेनिन र माओले भनेको मिडिल क्लास होइन । यो एक्काइसौं शताब्दीले जन्माएको मिडिल क्लास हो । शिक्षा, सूचना प्रविधिका कारणले उत्पादन सम्बन्धका कारणले जन्मिएको छ । परम्परागत ढंगको मिडिल क्लास होइन ।

तपाईंले त्यति बेला भन्दा चुनावको कुरा थिएन नि ?

हो चुनाव थिएन, तर त्यो भन्दा मिडिल क्लास त अस्थिर वर्ग हो यसले क्रान्ति गर्दिन्छ भनेर कयौं लेख लेखियो र हामीलाई आरोप लगाइयो । तर अहिले सबैले त्यो कुरा मानिरहेका छन् । एउटा साँचो कुरा के हो भने रविजीहरु मिडिल क्लासको सपोर्टमै आएको हो । दलाल संसदीय व्यवस्था असफल हुँदै गएको छ, पुराना पार्टीहरुले निकास दिन सकेका छैनन, त्यो त्यहाँ व्यक्त भयो ।

त्यसमा पनि नेतृत्व गर्ने चाहीँ मिडिल क्लास नै छ । यो असफल भयो यसले सकेन भन्ने कुराको लिड चाहीँ मिडिल क्लासको शक्तिले नै गरिरहेको छ, उहाँहरु संयोगले त्यसमा पुग्नुभयो । हामीले सचेततापूर्वक भनेको के हो भन्दाखेरि किसान मजदुरमा मध्यम वर्ग पनि थप्नुपर्छ, जसले क्रान्तिलाई अघि बढाउनका लागि काम गर्छ ।

रास्वपा जसरी आयो, कतै तपाईंहरुलाई चुनावमा भाग लिनुपथ्र्यो, त्यो स्पेस रास्वपालाई छोडेर गल्ती गरियो भन्ने लागेको त होइन ?

होइन, होइन चुनावको कुरा होइन मैले वर्गको कुरा गर्दै छु ।

होइन, चुनावको कुरा गरेको ?

मध्यम वर्गले चुनावलाई प्रभावित गरेको छ त्यो छुट्टै कुरा हो, तर हिजोको सन्दर्भमा मध्यम वर्गको विश्लेषण चुनावलाई हेरेर गरेको होइन । नेपाली समाज वा विश्वभर एउटा शक्तिशाली वर्गको उदय भएको छ, त्यसलाई कम्युनिष्टहरुले वस्तुवादी ढंगले ग्रहण गर्न जरुरी छ ।

तपाईंहरुले पार्टी फोडेर जाँदा प्रचण्डजीले यस्तो नगर्नुस् भन्नुभएको थियो, यो १२ वर्षमा के भयो, के पाइयो, किनभने यसमा जनधनको क्षति भएको छ मान्छेको ज्यान गएको छ, त्यो फर्किएर आउँदैन ?

तर गएको मात्रै छैन, प्राप्त भएको पनि छ । हरेक मान्छेले के बुझ्नुपर्छ भने गलत चिजहरु लादिन खोज्दा विद्रोह हुनुपर्छ, विचलनहरु आए समस्याहरु आए भने संघर्ष गर्नुपर्छ । त्यहीँ समाहित भएर विलय हुनुहुँदैन । राम्रो हुँदा परिवर्तन हुँदा त्यसलाई समात्नुपर्छ साथ दिनुपर्छ । माक्र्सवाद भनेको यही हो । राजनीतिक विज्ञान भनेको यही हो । माओवादी आन्दोलनमा समस्या देखेर अलग भयौं ।

हामीले १२ वर्षमा नेपालको राजनीतिमा प्रतिस्पर्धा गरेका छौं, प्रतिरोध संघर्ष चलायौं, एमसीसी र एसपीपीविरुद्ध लड्यौं, एनसेलमा भएको करप्सनका विरुद्ध लड्यौं ललिता निवासमा राज्यले चोंचोमोचो मिलाउन खोज्यो हामीले लड्यौं कर्णाली नदी बेच्न खोजियो हामीले लड्यौं, अरुण ३ को विरुद्धमा हामी लड्यौं मानव तस्करविरुद्ध लड्यौं । हामीले प्रतिस्पर्धा गरेर आयौं ।

विकल्प हौं हामी भन्नुभएको थियो, तर त्यसरी आउन सक्नुभएन नि त ?

मैले बढाईचढाई गरेको होइन, तर नेपाली जनता हामीबाट धेरै आशावादी भएको पाउँछु । सामान्य सुकुम्वासी, मिटरब्याज पीडितहरु त हामीसँग आई नै रहनुभएको छ, बुद्धिजीवीहरु पनि आशावादी हुनुहुन्छ । अरु पनि लड्नुभएको छ, तर सडकमा मुद्दा उठाएर जनतालाई राहत पुग्नेगरी लड्ने एक मात्रै हामी छौं । एमसीसी विरुद्धको संघर्षमा पनि हामी लडिराखेका छौं । घमण्ड होइन, जनताको आशालाई पूरा गर्ने हामीसँग आकांक्षा पनि छ ।

मानेका छैनन् भने मान्ने बनाउने आकांक्षा पनि छ । अहिले राजनीतिमा जुन ठूल्ठूला विचलन र विकृतिहरु भएका छन्, जनताले हामीलाई त्यसभित्र राखेको हामीले पाएका छैनौं । यो हाम्रा साथीहरुले गरेको त्याग हो ।

तपाईंहरु पनि ०८१ मा ०८४ को चुनावको कुरा गरिरहनुभएको छ, एमाले र रास्वपा पनि मिसन ०८४ भन्छ, के फरक छ त ?

आधारभूत कुरा एउटै फरक छ र त्यो महत्वपूण कुरा हो । सांसद र मन्त्रीको लागि मात्रै हामीले ०८४ को चुनावको कुरा गरेका छैनौं । ०८४ को चुनावलाई समाजवादी अभियानका रुपमा लिएर जानुपर्छ । नेपालमा १८ वर्षको प्रयोगलाई दलाल पुँजिवादी सत्ता भनेका छौं, जनताको हातमा सत्ता आउन सकेको छैन र सत्ता दलाल पुँजिपतिहरुको मुठ्ठीमा पर्दै गएको छ ।

त्यसलाई रुपान्तरण नगरेसम्म हुँदैन । चाहे नयाँ पार्टीलाई दिनुस् या अर्को पार्टीलाई दिनुस् आधारभुत रुपमा यो सत्ताको चरित्रलाई बदल्नुपर्छ र त्यो भनेको समाजवाद हो । त्यसैले समाजवादमा जाने अभियानको रुपमा चुनावलाई प्रयोग गर्ने हो ।

तर संसदीय चुनाव भन्ने बित्तिकै सरकार जोडिएर आउँछ नि त ?

आउँछ, तर नआउन पनि सक्छ । क्रान्तिकारीले जनताको जागरणको निम्ति प्रयोग गरेको संगिठत गर्नका लागि प्रयोग गरेको उदाहरण पनि छ नि त ।

के भनेर भोट माग्नुहुन्छ भनेको ?

समाजवादको लागि भनेर माग्छौं, तपाइँहरु उठ्नुस्, जागरुक हुनुस्, वडादेखि केन्द्रसम्म जनताको प्रतिनिधि तयार हुनुस् । अहिले भइरेहको परम्परागत लिडर हुँदैन भने त्यही गएर पोखिने होइन कि श्रमिक वर्गले आफ्नो उम्मेदवार खडा गर्नसक्छ एक चोटी आँट गरौँ न भन्छौं, च्यालेन्ज गरौ न हामी । अहिले विचलन, विघटनतिर गइरहेको गोलचक्करको राजनीतिलाई ट्रयाकमा ल्याउन, बाटो हिँडाउनको लागि चाहीँ समाजवादी अभियानमा लागौं र नयाँ राज्य बनाउने आन्दोलनमा लागौं ।

सरकारमा जाने कि नजाने ?

त्यो परिस्थिति सापेक्ष कुरा हो । मानिलिनुस्, जनताको प्रतिनिधिहरु बहुमतमा आए अब के गर्ने ? आउँदैन भन्न सकिँदैन, हामीले अपिल गर्छाैं हाम्रो कुरा मात्रै होईन मोर्चा बनाउँ आन्दोलन गरौं संगिठत बनौं ।यसले गरेन गरेन मात्रै होईन, गर्ने मान्छे लिएर विकास गरौं न । हामीले जित्यौं भने सरकार क्रान्तिको एउटा मोर्चा बन्नसक्छ । हामीले त्यो अप्सन (विकल्प) पनि खोलेका छौं ,संविधान बदलौं हामीले अहिले भनेका छौं । जनमत संग्रह गरौं न अथवा विद्रोह गरेर भएपनि गरौं न । यो व्यवस्था नेपाललाई उँभो लगाउँदैन । नारा सुखी र समृद्धिको छ तर यो सत्ताको चरित्र शोषण उत्पीडन अमानवीयता लुटखसोट, भ्रष्टाचार तस्करी हो नि त । यहाँ मान्छेलाई दोष दिन्छन् नि त्यो होईन । सत्ताले नै त्यस्तो पात्रहरु निर्माण गर्ने हो ।

चुनाव चाहीँ एक्लै कि मिलेर ?

मिलेर पनि ।

को—कोसँग मिल्ने ?

आफूलाई त हामीले जनताको तहबाटै तयार गर्नेगरी सोच्नुपर्छ, आशावादी पनि छौं । त्यसो भएन भने पनि हामीले चारमित्र शक्तिः कम्युनिष्ट,समाजवादी, देशभक्त र गणतन्त्रवादी । यी चार शक्तिले समाजवादका लागि मिलेर लड्नुपर्छ । अनि चार वर्गः किसान, मजदुर, मध्यम वर्ग र राष्ट्रिय पुँजिपति । यी चार वर्ग समाजवादमा जान मित्र वर्ग भएकोले सँगै लिएर जानुपर्छ । अनि ६ मित्र समुदायः बाहुन क्षेत्री, जनजाति, मधेस, दलित, महिला र मुश्लिम यिनीहरुलाई हाम्रो निकास यही हो भन्ने अनुभुति गराउँदा संयुक्त रुपले जान सकिन्छ । सबै कम्युनिष्टहरु एउटै मोर्चामा सहभागी बनौं, समाजवादीहरु सहभागी बनौं ।

भनेपछि एमाले माओवादीसहित मिलेर चुनावमा जाने ?

हो । थुप्रै कुराहरु सोच्नुपर्छ तर अहिले हामीले कम्युनिष्टहरु दुश्मन होइनन् भन्ने संश्लेषण गरेका छौं । कम्युनिष्ट, देशभक्त गणतन्त्र र समाजवादीहरुलाई दुश्मनका रुपमा हेर्नु हुँदैन ।

अहिले भर्खरै ईलाम र बझाङमा चुनाव भयो, त्यहीँ बाक्सा थापेको भएपनि त हुन्थ्यो, एउटा प्रयोग त हुन्थ्यो, जनमत नाप्ने हिसावले ?

अहिले हामीले आंशिक हिसाबले सोचेका होइनौं । अभियान र मोर्चाको रुपमा लिएर जानका लागि ०८४ चाहीँ उपयुक्त भन्ने हाम्रो निष्कर्ष हो ।

यो उपचुनावमा समाजवादी मोर्चामा नभएको पार्टीलाई इलाममा समर्थन गर्नुभयो, मोर्चामा भएकोलाई गर्नु भएन ?
दुवै ठाउँमा जित्नेलाई सहयोग गर्ने भन्ने भएको थियो, ईलाममा एमाले र बझाङमा एकीकृत समाजवादीलाई समर्थन गर्ने भन्ने थियो । बझाङमा एकीकृत समाजवादीको उम्मेदवार राम्रो छ भन्ने आएको थियो अनि त्यसै अनुसार गरियो, यो मोर्चामै छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *