सुरक्षण मुद्रण उपकरण खरिदमा भ्रष्टाचार, विकल पौडेलसहित ६ विरुद्ध मुद्दा

सुरक्षण मुद्रण उपकरण खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यो पौडेलविरुद्ध तेस्रो भ्रष्टाचार मुद्दा पनि हो ।

पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका मेकानिकल सीडीई नविन कुमार पोखरेल विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

अख्तियारले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा र शाखा अधिकृत हरिवल्लभ घिमिरे, सुरक्षण मुद्रण केन्द्रको उपकरण खरिद गर्ने ठेक्का पाएको म्याक्स इन्टरनेशनल र त्यसका सञ्चालक अकबर हुसेन विरुद्ध पनि मुद्दा दायर गरेको छ ।

उनीहरुमाथि ४० करोड ८५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ ।

सुरक्षण मुद्रण केन्द्रको भवन र संरचना निर्माणमा अनियमितता भएको भनी गत वर्ष दायर भएको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

पौडेलविरुद्ध अमेरिकाको स्थायी आवास अनुमति पत्र (पीआर) लिएर त्यसबारेको विवरण लुकाई नेपालमा नियुक्ति लिएको मुद्दा पनि छ । सुरक्षण मुद्रण केन्द्रको भवन र संरचना निर्माणमा अनियमितता आरोपमा पनि विशेष अदालतमा मुद्दा छ ।

विशेष अदालतले अख्तियारको हिरासतमा रहेका पौडेललाई आइतबार थप १० दिन थुनामा राख्न अनुमति दिएको छ । उनीमाथि गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *