महिला ट्वान्टी–२० क्रिकेटमा सुदूरपश्चिम र एपिएफको दोस्रो जित

सुदूरपश्चिम प्रदेश र एपिएफले जारी ललितपुर मेयर कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सुदूरपश्चिमले कोशी प्रदेश र एपिएफले वागमती प्रदेशलाई हराउँदै जारी प्रतियोगितामा दोस्रो जित निकालेका हुन् । यता, कोशी र वागमतीको भने यो लगातार दोस्रो हार हो । सुदूरपश्चिमले कोसीलाई १९ रनले हराउँदा एपिएफले वागमतिमाथि आठ विकेटको रबाफिलो जित निकाल्यो । पहिलो खेलमा सुदूरपश्चिमले ललितपुर मेयर–११ र एपिएफले कोसीलाई हराएको थियो ।

कुल पाँच टोली सहभागी प्रतियोगितामा समान दुई खेलबाट दुई जित निकाल्दै सुदूरपश्चिम र एपिएफले फाइनल पुग्ने सम्भावना बलियो बनाएका छन् । सोमवारको पहिलो खेलमा वागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ औं ओभरमा मात्र दुई विकेट गुमाउँदै पूरा ग¥यो । एपिएफकी ममता चौधरीले ३५ रनमा अविजित रहिन् । इन्दु बर्माले १७ रन, कप्तान सीता रानमगरले ११ रन जोड्दा राजमति ऐरी १० रनमा अविजित रहिन् ।

वागमतीको बलिङमा लागि खुशी डंगोलले एक विकेट लिइन् । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वागमतीले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ७३ रनको सामान्य योगफल बनायो । वागमतीकी ओपनर हेनिशा गुरुङले ३१ रन जोड्दा खुशी डंगोल १४ रनमा अविजित रहिन् । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । एपिएफको बलिङमा करुणा भण्डारीले चार ओभरमा चार विकेट लिँदा १० रन मात्र दिइन् । सीता रानामगरको नाममा दुई विकेट रह्यो ।

दोस्रो खेलमा सुदूरपश्चिमले दिएको ११३ रनको मध्यम लक्ष्य पछ्याएको कोशीले निर्धारित ओभरमा सात विकेट गुमाउँदै ९३ रन मात्र बनाउन सक्यो । कोशीका काजल श्रेष्ठले ३३ रन र कप्तान अप्सरी बेगमले २३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा कोसीले दोस्रो हार व्यहो¥यो । सुदूरपश्चिमको बलिङमा ऋतु कनोजिया, लक्ष्मी साउद, जानकी थापा र कप्तान विन्दु रावलले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित निर्धारित ओभरमा आठ विकेट गुमाउँदै ११२ रनको योगफल बनाएको थियो । सुदूरपश्चिमकी सम्झना खड्काले सर्वाधिक ५४ रनको योगदान दिइन् । उनले ५१ बलमा चार चौका हिर्काइन् । ऋतुले २३ रन र विन्दु रावलले १४ रन जोडे । कोसीको बलिङमा सवनम राई, हिरणमयी रोय र संगीता राईले समान दुई लिए । एलिसा खडियाले एक विकेट निकालिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *