ग्यालेक्सी टीभीले लगेको पैसा फिर्ता नगरेपछि हिमालयन बैंकले हाल्यो मुद्दा

आफूले प्रायोजन गरेको कार्यक्रम  प्रसारण नगरी पेश्किबापत लगेको रकमसमेत फिर्ता नदिएको भन्दै  हिमालयन बैंकले गोर्खा मिडिया प्रालि(ग्यालेक्सी फोर के टीभी) विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

गोर्खा मिडिया प्रालिले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनको कार्यक्रम ‘को बन्छ करोडपति’ को दोस्रो सिजनको प्रायोजन हिमालयन बैंकले गरेको थियो । उक्त कार्यक्रम उत्पादन र प्रशारणका लागि आफूले पेश्कि रकम भुक्तानी गरेको तर ग्यालेक्सी टेलिभिजनले कार्यक्रम उत्पादन नगरेको भन्दै बैंकले सम्झाैता बमोजिम रकम फिर्ता दिलाउन माग गरेको छ ।

हिमालयन बैंकले ४ वैशाख, २०८१ मा गोर्खा मिडिया नेटवर्क प्रालि र उक्त कम्पनीको सञ्चालक समितिलाई विपक्षी बनाई मुद्दा दायर गरेको हो । उसले ०८०–सीपी–७८७२ को ‘करार बमोजिम रकम दिलाई भराई पाउँ’ भन्ने मुद्दा दर्ता गरेको हो ।

जिल्ला अदालत काठमाडौंले आइतबार कम्पनी रजिष्ट्रारको कार्यालयमा पत्र पठाएर शेयरधनीहरुको विवरण मगाएको छ । उसले शेयर रोक्का भए नभएको विवरण र शेयर दर्ता किताबको प्रमाणित प्रतिलिपी पनि झिकाएको हो ।

अदालतमा दायर फिरादपत्र अनुसार तत्कालिन सिभिल बैंक (हाल हिमालयन बैंकमा गाभिएको) र गोर्खा मिडियाबीच ११ फेब्रुअरी २०२२ (२८ माघ २०७८) मा को बन्छ करोडपति कार्यक्रमको मुख्य प्रायोजक सिभिल बैंक रहने र त्यसबापत बैंकले एक करोड २४ लाख ३० हजार रुपैयाँ भुक्तानी गर्ने सम्झौता भयो । जसमा कम्पनिका क्रियटिभ डाइरेक्टर विपिनकुमार आचार्य  र अपरेशन हेड पुष्पराज गिरीले हस्ताक्षर गरेका थिए ।

सम्झौतापत्रमा ५२ अंकमा प्रशारण हुने कार्यक्रमका लागि सुरुमै बैंकले आधा रकम भुक्तानी गर्ने र त्यसबापत सिभिल बैंक स्वर्ण प्रायोजक बन्ने उल्लेख थियो । १२ भाग प्रशारण भएपछि थप २५ प्रतिशत रकम पाउने र ४४ भाग प्रशारण हुने बेलामा सबै रकम भुक्तानी गर्ने सम्झौता भएको बैंकको भनाइ छ ।

सम्झौताको शर्तमा कार्यक्रम विवादास्पद भएमा प्रायोजन फिर्ता लिन सकिने र भुक्तानी भएको रकम समानुपातिक रुपमा कटाई बाँकी फिर्ता गर्न सकिने भन्ने व्यहोरा राखिएको थियो ।

फिरादपत्र अनुसार, गोर्खा मिडिया प्रालिले शुरुमै ६२ लाख १५ हजार रुपैयाँ भुक्तानी पाइसकेको थियो । उनीहरुबीच वैशाख २०७९ देखि कार्यक्रम शुरु गर्ने भद्र सहमति समेत भयो ।

ग्यालेक्सी टेलिभिजनबाट उक्त कार्यक्रम प्रशारण गर्ने सम्बन्धमा कुनै सुरसार नै नभएको र बैंकलाई त्यस बारेमा कुनै खबर जानकारी नगराएको भन्दै सिभिल बैंकले कार्यक्रम उत्पादनका लागि ताकेता गर्न थाल्यो । त्यही बीचमा ११ फागुन २०७९ मा सिभिल बैंक हिमालयन बैंकमा गाभियो ।

कार्यक्रम उत्पादन हुन नसकेपछि बैंकले ग्यालेक्सी टेलिभिजनमा ताकेता गर्न थाल्यो । बैंकको दावी अनुसार, टेलिभिजनका आधिकारिक व्यक्ति एवं क्रिएटिभ डाइरेक्टर विपिनकुमार आचार्यले दशैंसम्म पर्खिदिन आग्रह गरे । दशैंपछि फेरि ताकेता हुँदा टेलिभिजनका प्रतिनिधिहरुले आम निर्वाचन आएकाले कार्यक्रम छायामा पर्ने भनी निर्वाचनसम्म पर्खिदिन आग्रह गरेको अदालतमा दिएको निवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रम उत्पादन गर्न नसकेपछि रकम फिर्ता मागेकामा नदिएको भन्दै बैंकले पटकपटकमा इमेल संवाद प्रमाणको रुपमा अदालतमा पेश गरेको छ । २९ साउन, २०८० मा टेलिभिजनले आफूले भुक्तानी पाइसकेको रकमलाई विज्ञापनमा खर्च गर्ने प्रस्ताव गरेको र त्यसमा बैंक तयार नभएको उजुरीमा उल्लेख छ ।

कात्तिक, २०८० पछि भने कार्यक्रम उत्पादन नहुने निश्चित भएको भन्दै बैंकले ६२ लाख १५ हजार रुपैयाँ फिर्ता मागेको थियो । त्यसपछि पनि रकम नपाएको भन्दै बैंक अदालत गएको हो । बैंकले भुक्तानी भएको रकमका साथै कार्यक्रम प्रशारण गर्न नपाएकाले बैंकको ब्राण्डमा पुगेको धक्का र बजार प्रवद्र्धनमा नोक्सानी हुन गएको क्षतिपूर्ति समेत माग गरेको छ ।

सहकारी ठगीका एकपछि अर्को घटनामा मुछिएका ग्यालेक्सी टिभीका अध्यक्ष जीबी राई फरार छन् ।

त्यतिबेला टेलिभिजनका क्रिएटिभ डाइरेक्टर विपिन आचार्य अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री छन् । उनले अनलाइनखबरसँगको प्रतिक्रियामा त्यतिबेला बैंकबाट प्रायोजनबापट भुक्तानी लिएको बताए ।

‘म त्यतिबेला कार्यक्रमको क्रिएटिभ डाइरेक्टर थिएँ । कर्मचारीको रुपमा बाहेक मेरो अरु भूमिका छैन’, उनले भने, ‘म अहिले टेलिभिजनमा आवद्ध छैन । अदालतमा परेको मुद्दाको बारेमा मलाई केही पनि थाहा छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर