मधेसमा नयाँ सरकार बन्ला ? यस्तो छ सत्ता समीकरण

सत्ता साझेदार एमाले र माओवादीले साथ छोडेपछि मधेस प्रदेशमा जसपा नेपाल नेतृत्वको सरकार अल्पमतमा परेको छ । जसपा नेपालबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवलाई सरकार बचाउने तनाव बढेको छ । उनले अबको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने बाध्यता बनेको छ ।

प्रदेश सरकार स्थापनायता मधेसमा जसपा नेपालले नै सरकार चलाउँदै आएको छ । यादव नेतृत्वको सरकारले पनि यसबीचमा विभिन्न उतारचढाव बेहोरे पनि सत्ताबाट बाहिरिनु भने परेको छैन ।

२०७९ पुसमा एमाले, माओवादी, जनमत, लोसपालगायत दलसँग मिलेर जसपा नेपालले यहाँ सरकार बनाएको थियो । एमाले बाहिरिएपछि कांग्रेस सरकारमा प्रवेश गरेको थियो ।

गत फागुनमा फेरि केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि कांग्रेस सरकारबाट बाहिरिएको थियो भने एमाले भित्रिएको थियो । तर, जसपा नेपाल विभाजनपछि मधेसमा फेरि एमाले र माओवादी सरकारबाट बाहिरिएका हुन् ।

कांग्रेसको साथ रहेको जसपा नेपालले जनमत, लोसपा लगायत दलसँग साथ खोजिरहेको छ । केही दिनअघि जसपा नेपाल अध्यक्ष उपेन्द्र यादवले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेटघाट गरी मधेसमा सघाउन आग्रह गरेका थिए । तर, ठाकुरबाट सकारात्मक जवाफ पाएका छैनन् । यस्तै, एकीकृत समाजवादीलाई पनि जसपा नेपालले आफ्नो खेमामा ल्याउने प्रयास गरिरहेको छ ।

यता, एमाले, माओवादी, जनमत र लोसपाले सरकारका लागि गठबन्धन गर्ने समझदारी गरेका छन् । तर उनीहरुबीच सरकारको भागबण्डा मिलेको छैन । जनमतले मुख्यमन्त्रीको दाबी गरिरहेको छ ।

१ सय ७ सदस्यीय मधेस प्रदेशसभामा एमालेका २५, माओवादीका ९, जनमतका १३ र लोसपाका ८ सांसद छन् । कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ६ सांसद छन् । राप्रपा, नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारीको संघीय समाजवादी पार्टीको समान १ सिट छ । सरकार बनाउन बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर