बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । आज उच्च अदालत पाटनले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिएको हो ।

उच्च अदालत न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सफाइ दिएको फैसला गरेको अदालतका प्रवक्ता विमल पराजुलीले बताए।

काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो । उक्त आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन दिएका हुन् । यस्तै, सरकारी वकिलको कार्यालयले पनि लामिछानेलाई सुनाइएको सजाय कम भएको भन्दै पुनरावेदन गरेको छ ।

उच्च अदालतले यी दुवै पुनरावेदनमा एकसाथ सुनुवाइ गर्दै लामिछानेलाई सफाइ दिएको हो ।

बलात्कार मुद्दामा गत वर्षको पुस २५ मा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रूपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने आदेश पनि गरेको थियो ।

सोही वर्षको १३ पुसमा जिल्ला अदालतले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । तर, पीडित गौशाला २६ घटनाका बेलामा बालिग भइसकेको ठहर पनि गरेको थियो ।

५ भदौ, २०७९ मा बन्द प्रशिक्षणमा रहेका बेला क्रिकेटर लामिछाने ताहाचलस्थित हायात प्यालेस होटलबाट निस्केर पीडित (गौशाला २६)लाई भेटेका थिए । सन्दीपले पीडितलाई नगरकोट घुमाएर फर्किएपछि सिनामंगलस्थित एक होटलमा बास बसेको र त्यस क्रममा बलात्कार गरेको भन्दै पीडित गौशाला २६ ले जाहेरी दिएकी थिइन् ।

उजुरी परेका बेला केन्यामा रहेका उनी आफू विरुद्ध प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरेपछि नेपाल फर्किएका थिए । उनी आफूविरुद्ध प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरेपछि नेपाल फर्किएका थिए ।

जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा पठाइएका लामिछानेलाई २०७९ पुसमा उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो । काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरे पनि जेल बाहिर रहेर पुनरावेदन गर्न पाउने सुविधाअनुसार उनले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *