कैलालीमा १५ बिघा सरकारी जग्गा व्यक्तिका नाममा

कैलालीमा १५ बिघा सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको पाइएको छ । जिल्लाका तत्कालीन मालपोत र नापी कार्यालय प्रमुखको समेत संलग्नतामा उक्त जग्गा व्यक्तिका नाममा सारिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट खुलेको छ ।

यस कार्यमा संलग्न रहेको अभियोगमा आयोगले आइतबार दुवै कार्यालयका तत्कालीन प्रमुखसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार साबिकको नारायणपुर गाउँ विकास समिति वडा नं. ८ अन्तर्गत रहेको कित्ता नं. ९०८ को उक्त जग्गा फिल्डबुकमा जङ्गल भनी कायम भए पनि २०६८ सालमा कित्ताकाट गरी व्यक्ति विशेषका नाममा सारिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

उक्त जग्गा विन्द्रा रावल, कमलबहादुर रावल, सुशीलबहादुर रावल, विमलबहादुर रावलको नाममा सारिएको आयोगले जनाएको छ । मालपोत कार्यालय टीकापुर कैलालीको आर्थिक वर्ष २०८०र८१ को न्यूनतम मूल्याङ्कन अनुसार उक्त जग्गाको मूल्य २४ करोड ६ लाख ६९ हजार रुपियाँ रहेको आयोगले जनाएको छ । उनीहरू चारै जनालाई २४ करोड ६ लाख ६९ हजार रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको छ ।

यस कार्यमा संलग्न रहेको आरोपमा आयोगले मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुख मोहन स्नेही रसाइली र नायब सुब्बा अग्निबहादुर शाही, नापी कार्यालय टीकापुरका तत्कालीन प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्द, सर्वेक्षक दशरथ मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूलाई जनही २४ करोड ६ लाख ६९ हजार रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको आयोगले जनाएको छ ।

उक्त जग्गा आफ्नो नाममा नामसारी गराउने विन्द्रा रावल, कमलबहादुर रावल, सुशीलबहादुर रावल, विमलबहादुर रावलविरुद्ध पनि मुद्दा दर्ता भएको छ । उनीहरूविरुद्ध पनि जनही २४ करोड ६ लाख ६९ हजार रुपियाँ बिगो तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको आयोगले जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *