गृहमन्त्री लामिछानेलाई कारबाहीको माग गर्दै उपसभापति गुरुङको निवेदन

संसद्को अवहेलनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न माग गर्दै कांग्रेसका उपसभापति तथा सांसद सांसद धनराज गुरुङले सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् ।

निवेदनमा उनले ‘सत्यतथ्य नबोल्ने गृहमन्त्रीमाथि संसदको अवहेलनामा कारबाही गर्न’ माग गरेका छन् । ‘२०८१ साल ज्येष्ठ ६ गतेको बैठकमा माननीय गृहमन्त्रीले प्रतिनिधि सभाको रोष्टमबाट तथ्यहीन, आधारहीन कुरा गरी नेपाली कांग्रेसका प्रतिनिधि सभाका सदस्यहरुमाथि मानमर्दन गर्न खोजेको, हुँदै नभएको कुरालाई बढाईचढाई गरेर आम नागरिकलाई भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथि धावा बोलेको, अदालतको निर्णयको वर्खिलाप गरी अदालतको समेत अवहेलना गरेको, अदालतवाट सफाइ पाइसकेका रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी प्रस्तुत गरी आम नागरिकबीच भ्रम सृजना गर्न खोजेको, आफुलाई अदालतभन्दा मागि राखी अभिव्यक्ति दिएको व्यहोरा स्मरण गराउन चाहन्छु,’ उनले निवेदनमा उल्लेख गरेका छन् ।

गुरुङले अगाडि भनेका छन्, ‘उहाँले बोलेका कुराहरुको अडियो तथा भिडियो प्रतिनिधि सभा सचिवालयमा सुरक्षित रहेको पनि होला । देशको गृहमन्त्रीले अनैतिकरुपमा तथ्यहीन कुरा गर्दा संसदको अवहेलना हुन पुगेको छ । उहाँले बोलेको कुराहरु पुष्टि गर्न म उहाँलाई चुनौति दिन चाहन्छु । यदि पुष्टि नभएमा उहाँमाथि कारबाही गर्न माग गर्दछु ।’

प्रतिनिधि सभा नियमावलीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि गृहमन्त्रीले पालना नगरेको भन्दै उनले संसदको अवहेलनामा कारबाही गर्न माग गरेका छन् । रातो पासपोर्ट दुरुपयोग गरेको भन्ने आरोपको सम्बन्धमा सर्वोच्च अदालतले २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपीसमेत उनले पेस गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *