सरकारविरुद्ध जेठ १३ गते काठमाडौंमा बिरोध प्रदर्शन गर्ने काँग्रेसको निर्णय

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारबिरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

पार्टीको बुधवार सानेपास्थित मुख्यालयमा बसेको पार्टी केन्द्रिय कार्य समिति र संसदीय दलको संयुक्त बैठकले यही जेठ १३ गते अपरान्ह दिनको २ बजे काठमाडौंको प्रर्दशनीमार्गमा सरकारबिरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो । पार्टीको काठमाडौं जिल्ला कार्य समितिको आयोजनामा हुने सो प्रदर्शनमा सहभागी हुन पार्टीको भ्रातृ संगठन र सिंगो पार्टी पंक्तिलाई सो प्रदर्शनमा उपस्थिति पनि बैठकले आह्वान गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । काँग्रेसले संसदीय प्रक्रियालाई मिचेर गलत ढंगले अध्यादेशबाट बजेट ल्याउन लागेको, सहकारी ठगीको बिरोध र पीडितको पक्ष र प्रेस स्वतन्त्रताको पक्षमा उभिनका लागि आम जनतालाई आह्वान गर्न सो बिरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्न लागिएको पनि उनले बताए ।

प्रवक्ता महतले भने, ‘सरकारको जुन प्रवृत्ति छ । सहकारीको जुन ठगी र दुरुपयोगको प्रकरण छ । यी सबैलाई लिएर नेपाली काँग्रेस काठमाडौं जिल्ला समितिले १३ गते २ बजे प्रदर्शनी मार्गमा बिरोध प्रदर्शन गर्दैछ । त्यसमा सम्पूर्ण भ्रातृ संगठनहरु र पार्टीको साथीहरु संलग्न हुनुहुनेछ । र, यो समग्र सरकारको जुन गलत प्रवृत्ति छ , रवैया छ । र संसदीय प्रक्रियालाई मिचेर बजेट पनि ल्याउने, अध्यादेशबाट सम्पूर्ण कुराहरु गर्ने जुन मानसिकतामा सरकार हिँडिराखेको छ । बरु संसद नचले नचलोस् भन्ने मानसिकतामा सरकार हिँडेको छ । यी समग्र कुराको बिरुद्ध र यो सहकारीको ठगी बिरुद्ध र वचतकर्ताको पक्षमा हामीले यो बिरोध प्रर्दशन काठमाडौं जिल्ला समितिले आयोजना गर्दैछ । त्यसमा सम्पूर्ण जनमानस र पार्टीका साथीहरुलाई पनि सहभागी हुन हामीले आह्वान गरेका छौँ । प्रचण्डजीको नेतृत्वमा यो जुन गठबन्धन सरकार छ । र त्यसमा संलग्न जुन दलहरु छन् । यो संविधान र समग्र व्यवस्थालाई कमजोर गर्ने बाटोमा उहाँहरु लागि राख्नुभएको छ । त्यो प्रवृत्तिको खिलाफमा पनि यो प्रदर्शन हो ।’

नेपाली काँग्रेसले सरकारले प्रतिशोध साँधेर कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको जिकिर गर्दै त्यसप्रति निन्दा र भत्र्सना पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *