आगामी आर्थिक वर्षको बजेट १७ खर्बमाथि जानु हुँदैन : पूर्वअर्थमन्त्री पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सुरुकै दिनमा बजेटको अस्तित्वमाथि प्रश्न चिह्न उठ्नेगरी ल्याउन नहुने बताएका छन् ।

शुक्रबार नेपाल बुद्धिजीवी परिषद्ले आर्थिक वर्ष २०८१/०८२ को बजेटको कार्यदिशाबारेको छलफलमा पूर्वअर्थमन्त्री पौडेलले सरकारले ल्याउने बजेट सुरुकै दिनमा बजेट कार्यान्वयनमा चुनौती रहेको सन्देश दिनेगरी ल्याउन नहुने बताएका हुन् ।

बजेटको आकारले मुलुकको अर्थतन्त्रको वास्तविकता र  लिमिट क्रस गर्न नहुने उनको भनाइ छ । उनले १७ देखि २० खर्बको आकारमा बजेट ल्याउने सुनिएको भन्दै पौडेलले सरकारले असीमित ढंगले ठूलो आकारको बजेट बनाउन नहुने सुझाव दिए ।

उनले बजेट राजस्व, अन्तर्राष्ट्रिय ऋण र आन्तरिक ऋण परिचालनको आधारलाई नहेरी बजेटको आकार वृद्धि गर्ने छुट नभएको बताए । सरकारले १७ खर्बभन्दा माथिको बजेट ल्याउन नहुने उनको भनाइ छ । पूर्वअर्थमन्त्री पौडेलले १६औं योजना, दिगो विकास लक्ष्य, अल्पविकसित मुलुकबाट विकासोन्मुख देशमा स्तरोन्नति हुँदाका अवसर र चुनौतीको आधारका साथै सरकारमा सहभागी भएका राजनीतिक दलहरूको नीतिगत प्राथमिकता र साझा संकल्पका आधारमा बजेट आउनुपर्नेमा जोड दिए ।

“बजेट बनाउने आधार १६औं योजना, दिगो विकास लक्ष्य, अल्पविकसित मुलुकबाट विकासोन्मुख देशमा स्तरोन्नति हुँदाका अवसर र चुनौती पनि हो, तर मुख्य रूपमा बजेट निर्माणको आधार भनेको सरकारको नीति तथा कार्यक्रम नै हो । सरकारमा सहभागी भएका राजनीतिक दलहरूको नीतिगत प्राथमिकता र साझा संकल्प पनि छ । नीतिगत प्राथमिकता र साझा संकल्पको आधारमा नीति तथा कार्यक्रम अघि सारेको छ । त्यसका आधारमा बजेट निर्माण गर्नुपर्छ,” उनले भने, “सरकारले कुन आकारको बजेट बनाउँछौं । १७ देखि २० खर्बको आकारका कुरा समाचार माध्यममा आएको सुनेको छु । १७ खर्बमाथि गएछ भने पनि धेरै माथि नजाओस् । सुरुकै दिनमा बजेटको क्रेभिलिटीमाथि प्रश्न चिह्न खडा नहोस् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *